PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारत महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स ९-० गोल अन्तरले पराजित



रासस

भारत महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स ९-० गोल अन्तरले पराजित
Photo : ANFA

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो।

समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो। भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ। यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन्।

भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। डाङमेई ग्रेसले थप दुई गोल गरिन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल थपे। खेलको २४औँ मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन्। खेलको ४२ औँ मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन्। यसैगरि खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाइन्। खेलको ५३ औँ मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४-० को अग्रता बनायो। खेलको ५५ औँ मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाइन्।

यस्तै, खेलको ८४ औँ मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६-० को बन्यो। खेलको ८५ औँ मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ८७ औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८-० को अग्रता दिलाइन्। त्यसपछि खेलको ८८औँ मिनेटमा अन्जुले व्यक्तिगत चौँथो गोल गर्दै भारतलाई ९-० को जीत दिलाइन्। अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन्। सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell