PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा : विरेन्द्रभक्तले निरन्तरता दिए लोप हुन लागेको पर्वलाई

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा : विरेन्द्रभक्तले निरन्तरता दिए लोप हुन लागेको पर्वलाई

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : मध्यपुर थिमिमा जिब्रो छेड्ने (मेय् प्वा: खनेगु) जात्रा सम्पन्न भएको छ। यँया: पुन्ही (इन्द्रजात्राको चौथो दिन) हरेक वर्ष थिमिमा जिब्रो छेड्ने परम्परा रहेको छ।

मध्यपुर थिमिको कोलाखु टोल निवासी ३५ वर्षीय विरेन्द्रभक्त गुजु श्रेष्ठले यसपटक जिब्रो छेडाएका छन्। दिगु टोलस्थित भैरव मन्दिरअगाडिको डबलीमा जिब्रो छेडिएको हो।

थिमिकै बोडेमा भने हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट जिब्रो छेड्ने गरिन्छ। यता, मध्यपुर थिमिमा भने जिब्रो छेड्ने परम्परा लोप हुने अवस्थामा पुगेको थियो। श्रेष्ठले दोस्रो पटक फलामे नटुचा (मुलु-सुइरो) ले जिब्रो छेडाउँदै परम्परालाई निरन्तरा दिएका हुन्

२०६३ सालदेखि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा रोकिएको थियो। लोप हुने अवस्थामा पुगेको जात्रा २०७४ सालबाट फेरि सुरु भएको थियो। त्यसबेला पनि विरेन्द्रभक्तले नै जिब्रो छेडाए थिए। २०७५ सालमा बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएका थिए। त्यसपछिका वर्षमा भने कोरोना भाइरस महामारीका कारण यो जात्रा रोकिएको थियो। यो वर्ष जिब्रो छेडाउन विरेन्द्रभक्त नै तयार भएका हुन्।

जिब्रो छेडाएपछि विरेन्द्रभक्तले महाद्वीप बोकेर नगर परिक्रमा गरेका थिए। बालकुमारी पुगेर उनको जिब्रोबाट सुइरो निकालिएको थियो र मन्दिरकै खम्बामा गाडिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell