
गत शुक्रवार रिलिज भएको बलिउड फिल्म ‘ब्रह्मास्त्र (भाग एक)’ ले बक्सअफिसमा सुखद व्यापार गरेको छ। बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्ट अभिनित यस फिल्मले दुई दिनमा ७९ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।
अयान मुखर्जी निर्देशित यस फिल्मले पहिलो दिन करिब ३६ करोड रुपैयाँ कमाएको थियो। फिल्मले पहिलो दिनमा विश्वव्यापी रूपमा ७५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। यो सँगै ब्रह्मास्त्र कोरोनापछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ।
दोस्रो दिन शनिवार फिल्मले बक्स अफिसमा धमाका मचाएको छ। बलिउड हंगामाका अनुसार ब्रह्मास्त्रले दोस्रो दिन ४१.२५ देखि ४३.२५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो। फिल्मले दोस्रो दिन करिब २० प्रतिशतको उछाल देखाएको हो।
समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मले हलसम्म दर्शक तान्न सफल भएको छ। शनिवार मात्रै हिन्दी संस्करणले करिब ३७.५० करोड रुपैयाँको व्यापार गरेको थियो।
‘ब्रह्मास्त्र’ले हिन्दीमा दुई दिनमा करिब ६९.५० करोड भारतीय रुपैयाँ कमाएको छ। योसँगै फिल्मले यस साताको अन्त्यमा ११० करोड पार गर्ने विश्वास गरिएको छ।
त्यस्तै, तेलुगु संस्करणले पहिलो दिन ४ करोड कमाए पनि दोस्रो दिनको कमाई ३ करोडमा झरेको छ। तमिल संस्करणमा यो फिल्मले ५० लाख कमाएको छ।
यस फिल्ममा रणवीर र अलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोय लगायतका कलाकारहरूको अभिनय छ। यो एक अलौकिक शक्तिसँग सम्बन्धित फिल्म हो। यो फिल्म हिन्दी,तमिल, तेलुगु, मलयालम र कन्नडसहित पाँच भाषामा एकसाथ रिलिज भएको थियो।