PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य असोजदेखि सुरु हुने



पहिलोपोस्ट

ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य असोजदेखि सुरु हुने
Photo : istock

काठमाडौं : ललितपुरको ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ। निर्माणको ठेक्का पाएको कम्पनीले फ्लाइओभरको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जानकारी दिएको छ।

केन्द्रका इन्जिनियर सौरभ बज्राचार्यका अनुसार केन्द्रले डिजाइन पूरा भएपछि हेर्ने र स्वीकृति गरेपछि निर्माणका लागि बाटो खुल्नेछ। 'निर्माण व्यवसायीले फ्लाइओभरको डिजाइन बनाउने काम अन्तिममा पुगेको बताएका छन्,' उनले भने, 'डिजाइनको काम सम्पन्न भएपछि केन्द्रले चेक गरेर स्वीकृति दिन्छ। त्यसपछि निर्माणको कार्य सुरु हुन्छ।'

उनका अनुसार निर्माण कम्पनीले तयार गरेको डिजाइनमा केन्द्रले केही सुझाव दिन आवश्यक देखेमा पुनः डिजाइन गरिनेछ। डिजाइन केन्द्रमा आएपछि २१ दिनभित्र स्वीकृति प्रदान गर्नुपर्ने उनको भनाइ छ।

निर्माण व्यवसायीलाई डिजाइनका लागि ४ महिनाको समय दिइएको थियो। गत फागुनमा डिजाइन कार्य सुरु भएको थियो। कम्पनीले डिजाइन र निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ। बालकुमारीतर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिनेछ। त्यतातर्फ २८० मिटर लामो र्‍याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्‍याम हुने केन्द्रले जनाएको छ।

यस्तै केन्द्रका अनुसार सुपर स्ट्रक्चर ३५ मिटर हुने फ्लाइओभरको जम्मा लम्बाई ४ सय ९० मिटर हुनेछ। मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी चल्नेछन्।

यो फ्लाइओभरको ठेक्का एम/एस आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का पाएको हो। निर्माण व्यवसायीले यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्नुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell