PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धोबिखोला डुबान रोक्ने योजनाबारे छलफल : मन्त्रीले मागे गगनको साथ, थापाले भने : सबैभन्दा बढी गाली मैले खान्छु



पहिलोपोस्ट

धोबिखोला डुबान रोक्ने योजनाबारे छलफल : मन्त्रीले मागे गगनको साथ, थापाले भने : सबैभन्दा बढी गाली मैले खान्छु

काठमाडौं : शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन्। आइतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए।

चौधरीले कोरिडोर निर्माणका क्रममा सरकारले जनताहरु त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी योजना बनाउने प्रतिवद्धता पनि जनाए।

उनले भने, ‘धोबिखोला कोरिडोरको कपन-बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा सांसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ। उहाँको निर्वाचन क्षेत्र पनि हो। उहाँलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन्। गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ।’

‘यो कोरिडोरलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौँ। कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रस्ताव पास हुन्छ। कोरिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं। जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न। यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन,’ उनले भने।

चौधरीले धोबिखोला कोरिडोरको कपन-बुढानिलकण्ठ डुबान नियन्त्रणको विषयमा नेपाली कांग्रेसका महामन्त्री एवं संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने समेत बताएका छन्। मन्त्री चौधरीले सो क्षेत्र थापाकै प्रतिनिधिसभा क्षेत्र रहेको भन्दै उनलाई शत प्रतिशत सहयोग गर्न मन्त्रालय तयार रहेको बताएका हुन्।

सो छलफलमा गगन थापाले भने धोबिखोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाउनुपर्ने माग राखेका थिए। उनले धोबिखोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड-खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए।

‘धोबिखोला कोरिडोरको कपन-बुढानिलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुटै आयोजना बनाएर गरिदिनुपर्छ। जसमा नाम मात्रको आयोजना बनाउने होइन। काठमाडौं उपत्यका प्राधिकरण, स्थानीय नगरपालिका, प्रदेशले एउटा गरी खण्डखण्डमा काम गर्ने काम भएको छ। यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्न के गर्ने योजना बनाउनुपर्छ। यो स्थानमा स्थानीय तह, प्रदेशले छुटै काम गर्नुहुँदैन,’ उनले भने।

आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको गगनले बताए। थापाले अहिले कोरिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरुको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए।

‘यो क्षत्रमा सबै भन्दा बढी गाली खाने मान्छे म हुँ। कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबै भन्दा बढी गाली मैले खान्छु। कोरिडोर क्षेत्रमा सयौँ घर बनेका छन्। बाहिरबाट आएमा मानिसहरुले २ आना ५ आनामा घर बनाउनु भएको छ। उहाँहरुसँग लालपूर्जा छ। उहाँहरुले वर्षैपिच्छे कर तिर्नुभएको छ। उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ। कोरिडोर बनाउने क्रममा खोलाको बहावलाई मात्रै नियन्त्रण गर्ने गरि मात्रै नभएर बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने देखिन्छ,’ गगनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell