PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

व्यापारी अमित श्रेष्ठको मुद्दामा उच्चले उल्टायो जिल्ला अदालतको आदेश, अर्ब बढी बिगो माग गरिएका श्रेष्ठ १५ लाख धरौटीमा रिहा



पहिलोपोस्ट

व्यापारी अमित श्रेष्ठको मुद्दामा उच्चले उल्टायो जिल्ला अदालतको आदेश, अर्ब बढी बिगो माग गरिएका श्रेष्ठ १५ लाख धरौटीमा रिहा

काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएका व्यवसायी अमित श्रेष्ठको मुद्दा उच्च अदालतले उल्टाएको छ। उच्च अदालत पाटनले व्यापारी अमित श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

एक महिना अघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको थियो। त्यसपछि श्रेष्ठलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको थियो।

त्यसपछि जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। भदौ १५ गते उच्च अदालतमा मुद्दा दायर भएको थियो।

गत बिहीवार उच्च अदालत पटनका न्यायाधीशहरु राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो। उनीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो।

गत असार २९ गते श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए।

श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा श्रेष्ठको कमनवेल्थ बैंक अस्ट्रेलियामा डलर खाता रहेको खुलेको थियो। उक्त खातामा एक लाख ९४ हजार २८५ डलर रहेको पाइएको थियो।

साथै, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४२१ डलर बराबर कारोबार भएको अनुसन्धानमा देखिएको छ। यस्तै, रोयल बैंकबाटै सेयर कारोबार भएको समेत अनुसन्धानमा खुलेको छ।

यस्तै, एभरेष्ट बैंकको खातामा दुई करोड ६ लाख ६ हजार ६९२ र एनआइसी एसियामा ६५ लाख २४ हजार ९१० रुपैयाँ गरी विभिन्न कम्पनीको सेयर लगानी रहेको पनि अनुसन्धानमा भेटिएको छ। यस्तै, नबिल बैंकमा ६५ लाख रुपैयाँ र ६७ हजार ५९६ अमेरिकी डलर समेत भेटिएको छ।

कलंकी, लाजिम्पाट र पानीपोखरीमा अपार्टमेन्ट गरी चार लाख ३९ हजार १९ डलर बराबरको सम्पत्ति रहेको पनि अनुसन्धानबाट खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell