PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चोलेन्द्रको दाबीः राजीनामा दिए महाभियोग फिर्ता हुन्छ भने, प्रचण्ड र देउवाको सहमति भन्दै कसले लग्यो प्रस्ताव?



पहिलोपोस्ट

चोलेन्द्रको दाबीः राजीनामा दिए महाभियोग फिर्ता हुन्छ भने, प्रचण्ड र देउवाको सहमति भन्दै कसले लग्यो प्रस्ताव?

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रस्तावमाथि बयानको क्रम जारी छ। जारी बयानमा आइतबार पनि जबराले सहकर्मी न्यायाधीश, बार पदाधिकारी, वरिष्ठ कानुन व्यवसायी र केही राजनीतिककर्मीमाथि पनि आरोप लगाए। जबराले आफूलाई राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आएको पनि दाबी गरे। 

कांग्रेस नेतृत्व डिना उपाध्यायले त्यस्तो प्रस्ताव गरेको जिकिर जबराको छ। कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई प्रधानन्यायाधीश बन्न सघाए महाभियोग फिर्ताको प्रस्ताव उपाध्यायले गरेको उनले बताए। 

‘राजीनामा दिए हामी सहजीकरण गर्छौँ। फिर्तां लिन्छौँ। एक डेढ महिना तपाईं काम गर्नुस् त्यसपछि दीपकजीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेता म कहाँ आए’, जबराले भने, ‘एउटा सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस्। प्रचण्डजी र शेरबहादुर जीसँग सल्लाह गरेर आएको हो हामी सबै फिर्ता लिन्छौँ भनेर मेरै क्वाटरमा आएर भन्नुभएको हो।’

जबराले आफूमाथिको महाभियोग प्रस्ताव बारको एजेण्डा भएको र राजनीतिक दलहरुले न्यायाधीशलाई समेत प्रयोग गरेको बताए। केही वरिष्ठ कानुन व्यवासायीहरुको स्वार्थ पूरा नहुँदा महाभियोग ल्याइएको जिकिर जबराको छ। 

जबराले हरेक महाभियोग प्रस्तावमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको नाम जोडिएको भन्दै योपटक पनि नेतृत्वकर्तामध्ये एक भएको जिकिर गरे। 

राजनीतिक भागबन्डा हुन्छ
जबराले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने जिकिर गरे। बारका पदाधिकारीका पनि हरेक नियुक्तिमा आकांक्षा हुने उनले बताए। २०४८ पछिका सबै नियुक्ति विवादमुक्त हुन नसकेको उनले बताए। न्याय परिषदको वर्तमान संरचना कायम रहेसम्म विवाद कायमै रहने पनि उनले जिकिर गरे। 

बयानमा उनले भने, ‘न्यायाधीश पदपूर्तिमा अनुचित रुपमा ढिला भएको छैन। तर, कहिलकाहीँ परिस्थिति त्यस्तै बन्छ। खुला रुपमा भन्दा फेरि प्रश्न बाहिर जान्छन्। हामी खुला संवादमा छौँ। त्यसले गर्दा यो गरिमामय जनताको अदालतमा भन्दिएन भने पनि आकांक्षाभन्दा फरक हुन्छ । हरेक नियुक्तिमा राजनीतिक भागबन्डा हुन्छ। हरेक नियुक्तिमा बारका पदाधिकारीहरुको चाहना छ। यो बयानमा भनिसकेको छु। हरेर पार्टीले सिफारिस नै गरेर पठाएको हुन्छ। लेटर प्याडमै परिषद र प्रधानन्यायाधीशलाई पठाएका छँदै छन्। यो कुराबाट हामी किन छिप्नुपर्छ? योग्य व्यक्ति चयनमा यसले पनि कहिलेकाहीँ यस्तै कारणले पनि ढिला हुन्छन्।’ 

जबराले आफूले कार्यकारी निकायसँग माग खोजेको भन्ने विवाद नबुझ्नेहरुको भएको बताए। 

जबराले गोला प्रथाबारे आफ्नो फरक धारणा रहेको बताए। आफ्नो मत अहिले नै पुष्टि भइसकेको पनि उनले जिकिर गरे। बेञ्च व्यवस्थापनमा पक्षपात गरेको लगायतका आरोप पनि जबराले अस्वीकार गरे। 

सबैप्रति आक्रामक भएका जबरा सञ्चार माध्यमसँग थप रुष्ट देखिए। जबराले पत्रकार प्रथम शासक भएको आरोप लगाए। आफूलाई बिदामा बस्न सत्ता गठबन्धनले गरेको निर्णय अचम्मको विषय भएको जबराको तर्क छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell