PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विकल्प खोजेपछि अलमुताइरीको 'तेस्रो' राजीनामा : घुर्की, अस्थिरता अनि आशा



मुकुन्द घिमिरे

विकल्प खोजेपछि अलमुताइरीको 'तेस्रो' राजीनामा : घुर्की, अस्थिरता अनि आशा

काठमाडौं : एन्फा नेतृत्वमा पंकजविक्रम नेम्बाङ आए अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल छाड्ने चर्चा एन्फा निर्वाचनताकै चलेको थियो। कारण थियो, दुई जनाबीचको टसल। अलमुताइरी नेपाली फुटबल प्रशिक्षणमा नेतृत्व गरिरहँदा नेम्बाङ एन्फाको नेतृत्वमा पुग्न 'वार्मअप' गर्दै थिए।

यही बीचमा हो दुई जनाको द्वन्द्व चर्किएको। नेम्बाङ एन्फाको नेतृत्वमा आएलगत्तै अलमुताइरीले नेपाली फुटबलमा नरहने आशयको पोस्ट गरेका थिए सामाजिक सञ्जालमा। तर तुरुन्तै हटाइहाले।

नेम्बाङ आउँदा अलमुताइरी नेपाली टोलीमा नरहलान् भनेर अनुमानका विविध कारण छन्। पहिलो भनेको नेम्बाङ वरिष्ठ उपाध्यक्ष छँदा अलमुताइरीले उनका कारण आफूले काम गर्न नपाएकोले राजीनामा दिने भन्दै सार्वजनिक रुपमा घुर्की लगाएका थिए, जसलाई उनले पछि पुष्टि गर्न सकेनन्। दोस्रो, खेलाडी र प्रशिक्षक विवाद भएर ११ जना सिनियर खेलाडी टिमभन्दा बाहिर पर्दा नेम्बाङलगायतका पदाधिकारी खेलाडीको पक्षमा खुलेर लाग्दै छानविनको दबाव दिएका थिए। तेस्रो अलमुताइरी स्वयंले पनि कर्माछिरिङ शेर्पा नेतृत्वमा नआए आफूले नेपाल छाड्ने बताएका थिए। चौथो, नयाँ नेतृत्व आएसँगै टसल भने सकिएको थिएन। विज्ञप्ति निकाल्दै एन्फाका स्रोत आफूलाई बदनाम गर्न लागी परेको र आफूले त्यो सहन नसक्ने भन्दै यसको विरुद्ध फिफा र एएफसीमा जाने धम्कीसमेत अलमुताइरीले सामाजिक सञ्जालबाटै दिएका थिए। यिनै घटनाक्रम नियाली रहेकाहरुले त्यसैले त भनिरहेका छन् : अलमुताइरी नेपालमा धेरै टिक्ने छैनन्।

कुनैबेला नेपाली फ्यानहरुको मनोभावना 'क्याज' गर्न सफल कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतवार सामाजिक सञ्जालमार्फत अब भने साँच्चैको राजीनामा दिएको जनाएका छन्। सँधैजसो चर्चाको केन्द्रमा रहने अल्मुताइरीको राजीनामाले यसपाला भने सामाजिक सञ्जालमा तरंग उत्पन्न गरेन, जति यसअघि उनका क्रियाकलापले उत्पन्न हुन्थ्यो। यसको अर्को कारण भनेको उनले नेपाली फुटबल छाड्दैछन् भन्नेमा सबै स्पस्ट थिए। चासो थियो त कसरी छाड्छन् भन्नेमात्र।

कतार फुटबल एसोसिएसनको फण्डिङमा अलमुताइरी नेपालमा प्रशिक्षकका रुपमा कार्यरत थिए। नेपाली फुटबलमा ठूलो लगानी कतार एफएको हुँदा एन्फा पनि अलमुताइरीलाई सोझै हटाउन सक्ने अवस्थामा थिएन। त्यसैले घुमाउरो बाटो प्रयोग गरेको पछिल्ला घटनाक्रमले देखिन्छ। त्यसको पछिल्लो उदाहरण हो बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाइलाई कार्यवाहक प्रशिक्षकका रुपमा नियुक्त गर्नु। अझ कोचिङ स्टाफमा पनि अलमुताइरीको कोचिङ स्टाफमा रहेका अफिसियललाई स्थान दिइएको छैन। त्यो भन्दा महत्वपूर्ण विषय भनेको अलमुताइरीले हटाएका खेलाडीलाई एन्फाले टिममा फिर्ता बोलाउने 'अनौठो' निर्णय गरेको थियो। जुन विश्वब्यापी रुपमा हेर्दा प्रशिक्षकको हातको कुरा हो। यसले नैतिक संकट पनि उब्जाएको थियो अलमुताइरीलाई।

यसको सबैभन्दा पछिल्लो विकसित भएको घटनाक्रम भने नेम्बाङले कतार एफएका अध्यक्ष हमद बिन खलिफा बिन अहमेद अल थानीसँग शनिवार भेटेबाट सुरु भएको देखिन्छ। कतार भ्रमणका क्रममा रहेका नेम्बाङ र थानीबीच नेपालको फुटबल विकास र कतारले गर्ने सहयोगबारे छलफल भएको एन्फाले जनाएको छ। कतारले गर्ने सहयोगमा मुख्य एउटा प्रशिक्षकलाई गर्ने फण्डिङ मुख्य हो।

अलमुताइरीको 'तेस्रो' राजीनामा

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५ सय २५ दिन नेपाली फुटबलमा बिताउँदा आइतवार तेस्रो पटक राजीनामा दिए। र, सायद यसपटक उनको यो अन्तिम पटकको राजीनामा हो। पटकपटक राजीनामाको घुर्की लगाइरहने अलमुताइरीलाई एन्फाले पटकपटक फिर्ता बोलाएको थियो।

उनले पहिलो राजीनामा तत्कालीन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष नेम्बाङले दुख दिएको भन्दै एन्फा गएर राजीनामा दिने बताएका थिए।

साउन १० गते अमुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्बाङले केही सातायता आफूलाई दु:ख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो।

'प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,' नेम्बाङलाई मेन्सन गर्दै उनले लेखेका थिए,'मलाई लाग्छ अब तपाइ खुशी हुनुभयो होला।'

त्यस्तै दोस्रो पटक अलमुताइरीले साफ च्याम्पियनसिपका दौरान राजीनामा दिएका थिए। उनले साफको फाइनल अघि नेपालबाट मुख्य प्रशिक्षकका रुपमा आफ्नो यो अन्तिम खेल हुने बताएका उनले पछि कुरा फेरेका थिए।

त्यस्तै यसपाला राजीनामा दिँदा उनको यो तेस्रो राजीनामाको घोषणा भएको छ।

एन्फाले कसरी लिएको छ?

एन्फा नेतृत्वमा नेम्बाङ आएसँगै कार्यसमितिको पहिलो बैठकले महासचिव किरण राईलाई अलमुताइरीसँग समन्वय गर्न जिम्मेवारी दिएको थियो। यसै क्रममा पनि विभिन्न ‘कन्ट्रोभर्सी’हरु भने बाहिर आए। प्रशिक्षक अलमुताइरीले एन्फाको पत्रको जवाफ नदिएको खबर सञ्चारमाध्यममा आएपछि अलमुताइरीले विज्ञप्ति नै जारी गर्दै आफूले पहिला पत्र नपाएको र पछि पत्र पाए पनि त्यसमा जवाफमा लागि समयसीमा नतोकिएको दाबी गरेका थिए। साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अञ्जन विष्ट र तेज तामाङलाई समेट्दै खेलाडीको सूची अलमुताइरीले पठाएको जनाइएको थियो। तर, एन्फाको दोस्रो कार्यसमितिको बैठकले ‘एनआरएन’ प्रदीप हुमागाइँलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी दियो। अलमुताइरीले उनीमाथि छानविनका लागि गठन गरेको समितिको वैधतामाथि प्रश्न उठाउनेदेखि एन्फाका केही मानिस उनलाई बदनाम गराउन लागि परेको आरोप लगाएका थिए।

यसपटकको राजीनामालाई एन्फाले एउटा सामान्य प्रकृयाका रुपमा लिएको बताउँछन् एन्फा प्रवक्त सुरेश शाह।

'उहाँले मेल पठाउनु भएको छ। सम्झौतालाई टर्मिनेट गर्दैछु भनेर पठाउनु भएको छ। २०२४ को डिसेम्बरसम्म करार रहेकोमा स्पस्ट रुपमा आफूले टर्मिनेट गर्नु भयो,' उनले भने, ' यो एउटा सामान्य प्रक्रिया हो। यो भइरहने प्रक्रिया हो। एन्फाको कार्यसमिति बसेर एउटा निर्णय दिन्छ र अगाडि बढ्छ। यसलाई एन्फाले ठूलो विषयका रुपमा लिएको छैन, सामान्य प्रक्रिया हो।'

विवादका शृङ्खला

अलमुताइरी नेपाल छँदा विवादमा परिरहे। कहिले एन्फा पदाधिकारीसँग, कहिले पत्रकारसँग त कहिले खेलाडीसँग। एन्फा परिसरमा धुम्रपान गरेर विवादमा परेका उनी पछि एन्फा नेतृत्वबारे बोलेको र राजीनामा प्रकरणबाट धेरै विवादमा आए। त्यस्तै साफ च्याम्पियनसीपका क्रममा दोस्रो राजीनामा दिएका उनी गुमानाम कहिल्यै भएनन्। पछिल्लो पटकको उनको विवाद भनेको खेलाडीसँगको हो। एसिया कप छनोटका लागि प्रशिक्षणका क्रममा खेलाडी र प्रशिक्षकबीच विवाद चुलिएको थियो। सो क्रममा १० जना सिनियर खेलाडी क्याम्पबाट बाहिरिएका थिए।

प्रशिक्षक अलमुताइरीले १० खेलाडीलाई समर्थन गर्ने तत्कालीन कप्तान किरण चेम्जोङलाई पनि टिमबाट बाहिर राखेका थिए।

नयाँ टिमले एसिया कप छनोटको पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गरे पनि दुई खेलमा कमजोर प्रदर्शन गरेको थियो।

टास्क फोर्स र वैधानिकताको प्रश्न

अलमुताइरीको विवादमा दुईवटा समिति बने। एउटा युवा तथा खेलकुद मन्त्रालयले राखेपबाट गठन गरेको तथा अर्को एन्फाले गठन गरेको टास्क फोर्स। पुरेन्द्रविक्रम लाखेको संयोजकत्वको छानबिन समितिले अलमुताइरीले सामाजिक सञ्जालको पोस्ट हटाउनुपर्ने तथा विवाद आउने काम नगर्न सुझाब दिएको थियो। खेल क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोहीबमोजिम काम अगाडि बढाउनुपर्ने र एन्फाका सम्पूर्ण पदाधिकारी, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाब समितिले दिएको थियो।

त्यस्तै खेलाडी प्रशिक्षक विवादमा टास्क फोर्स गठन गरिएको थियो। एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। ४ गते तत्कालीन एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका थिए।

उक्त प्रतिवेदनले एन्फालाई मुख्य प्रशिक्षकको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो।

'मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी जस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ,' उक्त प्रतिवेदनमा भनिएको छ, 'यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रबल सम्भावनालाई समेत नकार्न सकिँदैन। तसर्थः एसिया कप छनौट प्रतियोगितापछि कतार एफएसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ।'

अलमुताइरीले टास्क फोर्सको गठनको वैधानिकतालाई लिएर पनि प्रश्न उठाएका थिए। उनले आफ्नो विज्ञप्तिमा भनेका थिए: सुरुवातबाटै टास्क फोर्सको गठनको वैधानिकताबारे प्रश्न उठाउँदै आएको थिएँ। यद्यपि इमान्दारिताका लागि म मौन थिएँ। उनले कुनै पनि पत्र या प्रश्नको जवाफ आफ्नो जेनेभामा रहेको वकिलसँग समन्वय गरेर मात्र दिने बताएका थिए।

अलमुताइरीले देखाएको आशा

नेपाली फुटबल समर्थकलाई राम्रो वाककला भएका अलमुताइरी आशा दिलाए। आक्रामक फुटबलको रटान लगाएर नेपाली फुटबलको प्रशिक्षण सम्हालेका उनी विवादलाई साइड लगाउने हो भने प्रशिक्षणमा अब्बल देखिए। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण सम्हालेपछि छोटो तयारीपछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। जसमा चाइनिज ताइपेईमाथि २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेलमा ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो। यही प्रतियोगिताबाट नेपाली फुटबलमा समर्थकहरुले आशा देखे र आशा भरोसाको केन्द्रमा रहे अलमुताइरी। यसबीचमा नेपाललाई साफको 'ऐतिहासिक' फाइनलमा पुर्‍याउनु उनको सबैभन्दा ठूलो उपलब्धि रह्यो।  उनको नेपालबाट उनको अन्तिम खेल इन्डोनेसियासँगको रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell