
पंजाबी गायक सिद्धू मुसेवालाको गत जेठमा गोली हानी हत्या भयो। अपरिचित समूहबाट भएको आक्रमणमा भारतीय राष्ट्रिय कांग्रेसबाट राजनीतिमा प्रवेश गरेका मुसेवालाको मृत्यु भएपछि प्रहरी गोली चलाउनेको खोजीमा जुट्यो। पछि लरेन्स बिस्नोइ ग्याङले मुसेवालाको हत्या गरेको निचोडमा भारतीय प्रहरी पुग्यो। र, केहीलाई पक्राउसमेत गर्यो।
यो घटना ताजै भएको बेला भारतीय मिडियामा मुसेवालामाथि गोली चलाउने 'सार्प सुटर'हरु नेपाल आएको समाचारहरु प्रकाशन भएका थिए। तर, भारत र नेपाली प्रहरीले यस विषयमा कुनै आधिकारिक अनुसन्धानको विवरण सार्वजनिक गरेन। भारतीय प्रहरीले आफ्नो अनुसन्धान भारतभित्रै सीमित गरेको थियो। र, आक्रमणकारीहरुको खोजीका क्रममा अमृतसरमा तीन जना सुटरहरुलाई प्रहरीले पक्राउ गरेको थियो। दुईजना इन्काउन्टरमा मारिएका थिए। आक्रमणमा संलग्न एकजना भने फरार नै थिए। ती सार्पसुटर थिए दिपक मुन्डी।
शनिवार भने मुन्डी पक्राउ परे। भारतीय मिडियाका अनुसार मुन्डीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो। झापाबाट पक्राउ परेका मुन्डीलाई नेपाल प्रहरीले भारतीय प्रहरीको जिम्मा लगाएको आइतबार सार्वजनिक गरिएको हो।
मुन्डीलाई नेपाल प्रहरीले मुसेवालाको हत्यामा फरारा अभियुक्त भनेर पक्राउ भने गरेको भने होइन। उनीबारे नेपाल प्रहरीलाई भारत प्रहरीले जानकारी पनि दिएको होइन। मुन्डी आफ्ना दुईजना साथीहरुसँग भारतको पश्चिम बंगाल-नेपाल सीमाबाट झापा पुगेका थिए। त्यही क्रममा स्थानीयले उनीहरुलाई बालबालिक अपहरण गर्ने गिरोह भन्ने बुझेर नियन्त्रणमा लिएको भारतीय मिडियाले भारतीय प्रहरीलाई उद्धृत गर्दै लेखेको छ। त्यसपछि स्थानीयले उनीहरुलाई कुटपिट गरे र प्रहरीमा बुझाए।
प्रहरीको नियन्त्रणमा रहँदा उनीहरुले आफूहरु बालबालिका अपहरण गर्न नआएको बताए। र,आफूहरु भारतीय व्यापारी भएको दाबी गरेका थिए। नेपाल प्रहरीले उनीहरुलाई आफ्नो परिचय पुष्टि गर्न भन्यो र आफ्नो आफन्तलाई फोन गरेर परिचय प्रमाणित गर्न भन्यो। त्यही भने राजिन्द्र (जोकर), जो मुन्डीसँगै पक्राउ परेका थिए उनले आफ्ना आफन्तलाई फोन गरेका थिए।
मुन्डीसँगै जोकरबारे पनि प्रहरी खोजीमा थियो। भारतीय प्रहरीले उनको नजिकका व्यक्तिहरुको कल ट्रेसिङ गरिसकेको थियो। जोकरले कल लगाउने बित्तिकै दिल्ली प्रहरीले थाहा पायो। प्रहरीको स्पेशल सेलले कलबारे सबै विवरण संकलन गर्यो र नेपाल प्रहरीलाई जानकारी गरायो। भारतीय मिडियाका अनुसार दिल्ली प्रहरीको स्पेशल सेलले नेपाल प्रहरीलाई पक्राउ परेका व्यक्तिहरु बालबालिक अपहरण गर्ने गिरोहको नभइ मुसेवालाको हत्या गरि फरार रहेका मुन्डी रहेको जानकारी गरायो।
त्यसपछि दिल्ली र पंजाब प्रहरीका अधिकारीहरु नेपाल आए। मुसेवाला हत्या प्रकरणका साथै मुन्डी र अन्य दुईजनाको बारेमा कागजपत्रहरु भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझायो। र, मुन्डीसहित अन्य दुईजनलाई दिल्ली ल्याइयो।
मुसेवालाको अटोप्सी रिपोर्टले गोली लागेको १५ मिनेटमै उनको मृत्यु भएको देखाएको छ। मुसेवालामाथि १९ पटक गोली प्रहार भएको समेत रिपोर्टमा खुलेको छ। उनको हत्यापछि प्रहरीले आक्रमणकारीलाई खोज्न दबाब थियो। त्यसैले प्रहरीले पंजाब लगायत भारतभर नै आफ्नो अनुसन्धानलाई तीब्रता दिएको थियो।
मुन्डी र उनका साथी नेपालबाट पक्राउ परेको बारेमा नेपाल प्रहरीले भने केही जानकारी गराएको छैन। नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले पक्राउबारे कुनै पनि जानकारी नभएको बताए।