PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

चितवनमा जापानिज इन्सेफ्लाइटिस फैलिन नदिन उच्च सावधानी, लामखुट्टेको टोकाइबाट बच्न आह्वान



पहिलोपोस्ट

चितवनमा जापानिज इन्सेफ्लाइटिस फैलिन नदिन उच्च सावधानी, लामखुट्टेको टोकाइबाट बच्न आह्वान

चितवन : जापानिज इन्सेफ्लाइटिसको फैलिएपछि चितवनका पालिका तहमा जनचेतना जगाउन थालिएको छ। हालसम्म ९ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ। २२ जना शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जोखिम नियन्त्रणका लागि जिल्लाको द्रुत प्रतिकार्य टोली (र्‍यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्छन्। टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ।

स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ। कुनै पनि रोगको अप्रत्यासित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ।

जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ। चापागार्इँका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ। उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ। पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरि निरन्तररुपमा अवस्था बुझ्ने काम गरिरहेका छन्। जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ।

पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ। रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उनले बताए। जिल्लाका पाँच पालिकामा एकै पटक ९ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो।

भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ। गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो। गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो। सङ्क्रमितमध्ये पाँच  महिला र चार जना पुरुष रहेका छन्। उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन्।

निश्चित समय र भूगोलमा अनपेक्षितरुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको परिभाषामा राखेको चापागाईँले बताए। जिल्लामा ९ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सयमा सङ्क्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उनको भनाइ छ।

जापानिज इन्सेफ्लाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलोपटक देखा परेको थियो।

जिल्लामा शङ्कास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने गरिएको उनले बताए। चितवनमा सन् २०१८ मा एक जना, २०२० मा एक जना, २०२१ मा एक र हाल नौ जनामा यो रोगको सङ्क्रमण देखिएको हो।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन्। जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टेले घोडा, सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन।

जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्नुपर्छ। त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सँगुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावर व्यवस्थित ढङ्गले पाल्ने, पशुपन्छीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ। जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell