
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छिन्। सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण कार्यक्रममा भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताएकी हुन्।
उहाँले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको पनि बताइन्।
'नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्याएर प्रमाणित गर्नुपर्छ,' उनले भनिन्।
भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।