PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

नेपाल आइपुगे चिनियाँ जनकंग्रेसका अध्यक्ष लि

नेपाल आइपुगे चिनियाँ जनकंग्रेसका अध्यक्ष लि

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष नेपाल आइपुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष लि चान्शु सोमवार नेपाल आइपुगेका हुन्। लिलाई सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

अध्यक्ष लि र सभामुख सापकोटाबिच सोमवार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लिको सम्मानमा आज साँझ भोज आयोजना गर्ने कार्यक्रम तय भएको छ।

नेपालमा रहँदा लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार र प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलवार भेटवार्ता गर्ने छन्। उनले मंगलवार नै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नेछन्।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मंगलवार नै उनीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ नेशनल कंग्रेस अक्टोबर १६ देखि बेइजिङमा हुँदैछ। त्यसको पूर्व सन्ध्यामा चीनको राज्यसंयन्त्रका तेस्रो वरीयताका नेता छिमेकी मुलुकहरुको भ्रमणमा निस्किएका हुन्। उनी रसिया हुँदै नेपाल आइपुगेका हुन्। नेपालपछि उनी मंगोलिया र दक्षिण कोरिया पुग्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell