PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

चिनियाँ तेस्रो वरीयताका नेता लि काठमाडौंमा : यस्तो छ चार दिनको व्यस्त सेड्युल



पहिलोपोस्ट

चिनियाँ तेस्रो वरीयताका नेता लि काठमाडौंमा : यस्तो छ चार दिनको व्यस्त सेड्युल

काठमाडौं : चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल आइपुगेका छन्। अपराह्न ३:१५ मा त्रिभुवन विमानस्थलमा विशेष विमान मार्फत् अवतरण गरेका उनी त्यहाँबाट बास बस्ने होटल सोल्टी पुगेका छन्।

सोल्टीमा केही समय आराम गरेपछि लि नेतृत्वको टोली बानेश्वरस्थित संसद् भवन पुग्ने छ। साँझ ५:०५ बजे लि नेतृत्वको टोली बानेश्वर पुग्ने छ। त्यहाँ उनलाई प्रतिनिधिसभाका अध्यक्ष अग्निप्रसाद सापकोटाले स्वागत गर्ने छन्।

केही समय त्यहाँ सापकोटा र लिबिच भेटवार्ता हुनेछ। ५:२० मा नेपाल र चीनको संसदीय टोलीबिच द्विपक्षीय वार्ता हुने छ। वार्तामा नेपालका तर्फबाट सभामुख सापकोटा र चीनका तर्फबाट अध्यक्ष लिले नेतृत्व गर्ने छन्।

वार्तापछि आजै दुई देशबिच संसदीय साझेदारीका विषयमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको संसद् सचिवालयले जनाएको छ। एक घण्टा लामो द्विपक्षीय वार्तापछि ६:२० मा सहमति पत्रमा हस्ताक्षर हुने कार्यतालिका बनाइएको छ। वार्तापछि साढे ६ बजे अध्यक्ष लि नेतृत्वको टोली होटल सोल्टी फर्किने कार्यक्रम रहेको छ।

आजै सभामुख सापकोटाले अध्यक्ष लिको सम्मानमा रात्रिभोज दिनेछन्। होटल सोल्टीको मेघा हलमा ७ः३० बजे सभामुख सापकोटा र अध्यक्ष लिबिच पुन: भेट हुनेछ।

मंगलवार बिहान ९ बजे लि होटल सोल्टीबाट निस्किने छन्। उनी त्यहाँबाट पुन: बानेश्वरस्थित संसद् भवन पुग्नेछन्। बिहान ९:१५ मा अध्यक्ष लि र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनबिच भेटवार्ता हुनेछ।

संसद् भवनमै १०:०५ मा अध्यक्ष लिलाई भेट गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुग्ने छन्। उनीहरुबिच ४५ मिनेट भेट गर्ने कार्यक्रम तय भएको छ।

त्यस्तै १०:४५ बजे संसद् भवनमै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष लिबिच भेट हुनेछ। यो भेट पनि करिब ४५ मिनेट हुने कार्यतालिका बनाइएको छ।

संसद् भवनमा हुने भेट सकिएपछि त्यहाँबाट चिनियाँ जनकंग्रेसका स्थायी कमिटीका अध्यक्षको टोली होटल सोल्टीका लागि निस्किनेछ। १२ बजे खाना खाएर झण्डै २ घण्टा आराम गर्नेछन् अध्यक्ष लि। उनलाई भेट्न मंगलवार दिउँसो ३ बजे परराष्ट्र मन्त्री डा नारायण खड्का होटल सोल्टी पुग्ने छन्।

करिब ४० मिनेटको भेटवार्तापछि अध्यक्ष लि होटल सोल्टीबाट सिंहदरबारका लागि निस्किनेछन्। मंगलवार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय पुग्ने कार्यक्रम तय गरिएको छ। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन्। यो भेटका लागि करिब ३० मिनेटको समय छुट्याइएको छ।

उक्त भेट सकिएपछि लि पुन होटल सोल्टी फर्किनेछन्। मंगलवारका लागि लिको सेड्युल यति नै राखिएको छ।

बुधवार बिहानै उनी भक्तपुर घुम्न जानेछन्। साढे ९ बजे अध्यक्ष लिसहितको चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको अवलोकन तथा भूकम्पपछिको पुनर्निर्माण कार्यको जानकारी लिनेछन्। त्यहाँ उनले करिब १ घण्टा विताउने छन्। त्यहाँबाट उनी साढे १० बजे फर्किने छन्। उनको बिहानी कार्यक्रम यत्ति राखिएको छ।

उनले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। दिउँसो ४ बजे अध्यक्ष लिले राष्ट्रपति भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्ने कार्यतालिका बनेको छ। करिब ३० मिनेटको भेटपछि उनी होटल सोल्टी फर्किनेछन्।

उनी बिहीवार बिहान ८:३० बजे विमानस्थलका लागि प्रस्थान गर्ने छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ नेशनल कंग्रेसको पूर्व सन्ध्यामा अध्यक्ष लि चीनका चार छिमेकी देशको भ्रमणमा निस्किएका हुन्। उनी रसिया हुँदै नेपाल आएका हुन्। यहाँबाट उनी मंगोलिया र दक्षिण कोरिया पुग्ने छन्।

सीपीसीको २०औँ कंग्रेसले राष्ट्रपति सि चिनफिङको कार्यकाल थप ५ वर्ष बढाउने अपेक्षा गरिएको छ। चिनियाँ राज्य संयन्त्रमा राष्ट्रपति सि र प्रधानमन्त्री लि खछ्याङपछि तेस्रो वरीयतामा रहेका लि सोही जनकंग्रेसबाट बिदा लिने अपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell