काठमाडौं : नेपाल मानव विकास सूचकांकमा १ सय ४३औँ राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युनडीपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन सार्वजनिक गरेकोमा नेपाल लगभग स्थिर सूचकका साथ १ सय ४३औँ स्थानमा रहेको उल्लेख छ।
प्रतिवेदन अनुसार विश्वभर नै मानव विकास सूचकांक ओरालो लागेको छ।
युएनडीपीले सूचकांकलाई चार भागमा विभाजन गरेको छ। जसमा न्यून, मध्यम, उच्च र धेरै उच्च छन्। जसमा नेपाल मध्यम स्तरमा रहेको देखिएको छ।
सन् २०२१/२२ मा विश्वभर नै मानव विकासमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार नेपालले ०.६०२ अंक हासिल गर्दै १ सय ४३औँ स्थानमा रहेको हो। सन् १९९० मा नेपालले ०.३९९ मात्र अंक पाएको थियो।
३१ वर्षको अन्तरालमा नेपालले ५०.९ प्रतिशत सुधार गरेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२०/२१ मा नेपालको स्थान १४२औँ स्थानमा थियो।
यसैगरी, नेपालीहरुको औसत आयू ६८.४ वर्ष रहेको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले नेपालमा धनी र गरिबबिचको दूरी समेत बढ्दै गएको देखाएको छ। नेपालीहरुको प्रतिव्यक्ति खुद राष्ट्रिय आय वर्षको ३८ सय ७७ डलर रहेको पनि प्रतिवदेनमा उल्लेख छ।