PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?



लक्ष्मी बलायर

अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

काठमाडौं : केही महिनायता हरेक हप्ता दुई/तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छन्। गत शुक्रवार पनि बलिउड फिल्म ‘ब्रहमास्त्र’सँगै ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भए। साथै, केही सिनेमा हलहरूमा दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि प्रदर्शन भयो।

रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले उत्साहजनक व्यापार गर्दा ‘ऐना झ्यालको पुतली’ले ठिक-ठिकै व्यापार गरिरहेको हल सञ्चालकहरू बताउँछन्। तर, पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ भने हलबाट उत्रिसकेको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स हलहरूमा ‘ब्रहमास्त्र’सँगै नेपाली फिल्महरूले राम्रै व्यापार गरिरहेको बताउँछिन् क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी।

‘भारतमा आक्रमक व्यापार गरिरहेको ‘ब्रहमास्त्र’ ले नेपालमा पनि उत्साहजनक कमाइ गरिरहेको छ। ‘ऐना झ्यालको पुतली’मा सुरुमा खासै दर्शक नआएपनि अहिले भने राम्रो पिकअप लिइरहेको छ। धेरै जनाले ऐना झ्यालको पुतली हेर्न आग्रह समेत गरिरहनु भएको छ,’ उनले भनिन्।

‘ऐना झ्यालको पुतली’सहित नेपाली फिल्म ‘प्रकाश’, ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनरत छन्। प्रकाश र झिँगेदाउमा अझै पनि राम्रै दर्शकहरू आइरहेको गिरीको भनाइ छ।

सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’मा पनि दर्शकको चहलपहल राम्रै छ। नेपाली फिल्मले पनि ठिकै व्यापार गरिरहेको सुनाउँछन् हल व्यवस्थापक जीवन शाक्य। बरु आजबाट ब्रह्मास्त्रको व्यापार केही घटेको उनको तर्क छ।

कमलादीस्थित क्यूज सिनेमामा ‘ब्रह्मास्त्र’ शोहरू दर्शक आएता पनि ‘ऐना झ्यालको पुतली’मा दर्शक नै नआएको क्युज सिनेमाका इन्चार्ज अभिषेक थपलियाले बताए।

‘हिजोसम्म ब्रह्मास्त्रका शोहरू हाउसफुल भएता पनि आज ५० प्रतिशत मात्रै अकुपेन्सी छ। तर, ‘ऐना झ्यालको पुतली’ को एउटा शो पनि भएको छैन। हामीले प्रदर्शनको दिनदेखि नै दुइटा शो दिएका थियौँ। तर, दर्शक नै नआएपछि भने एक शो मात्रै राखेका छौँ,’ उनले भने।

त्यसैगरी, बिग मुभिजमा पनि फिल्महरूमा दर्शकको उपस्थिति उत्साहजनक नै रहेको हलका म्यानेजर दिपेश शाक्यले जानकारी दिए। नेपाली सहित भारतीय फिल्ममा पनि दर्शकको उपस्थिति लगभग बराबरी नै रहेको उनको भनाइ छ।

‘हामीले नेपाली र भारतीय फिल्महरू मिलाएर शो दिएका छौँ। सबै फिल्ममा राम्रै दर्शकहरू आउनुभएको छ। माउथ पब्लिसिटीले गर्दा ‘ऐना झ्यालको पुतली’मा पनि राम्रै दर्शक हुनुहुन्छ। झिँगेदाउ दोस्रो सातामा लाग्दा समेत राम्रो कमाइ गरिरहेको छ।’

‘कबड्डी ४’ पछि सुस्ताएको नेपाली बक्सअफिसमा फिल्म ‘प्रकाश’ र ‘झिँगेदाउ’को व्यापारले भने केही राहत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell