PahiloPost

May 15, 2024 | २ जेठ २०८१

साफ महिला च्याम्पियनसिप: श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप: श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा
फाइल फोटो

काठमाडौं: साफ महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि ६-० गोलको सहज जित निकालेको हो।

खेलको ९ औं मिनेटमै हिराकुमारी भुजेलको पासमा गोल गर्दै रश्मीकुमारी घिसिङले नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेट नबित्दै मिडफिल्डर सरु लिम्बुले दोस्रो गोल थपिन्। १७ औं मिनेटमा अमृता जैसीले गोल थप्दा पहिलो हाफमा नेपालले दबदबा बनाउन सफल रह्यो। ४० औं मिनेटमा गोलको अवसर बने पनि श्रीलंकन गोलकिपर आरजीआई योहानी वीरासिङगेमाथि नेपाली फर्वाडले फउल गर्दा रेफ्री चक्मा जयाले गोल दिइनन्। तर, पहिलो हाफको इन्ज्युरी समयमा दीपा शाहीले गोल थप्दा पहिलो हाफमा नेपाल ४-० ले अघि रह्यो।

दोस्रो हाफमा पनि सुरुबाट दवाब बनाएको नेपाली टोली पटकपटक फिनिसिङमा चुक्दा गोल गर्न संघर्ष गर्‍यो। नेपालका लागि पाँचौ गोल ७६ औं मिनेटमा अमिषा कार्की गोल गरिन्। छैटौ गोल गोलकिपरलाई बिट गर्दै इन्ज्युरी समयमा कार्कीले नै गरिन्। उनी ५५ औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेस गरेकी थिइन्।

जितसँगै नेपाल समूह 'बी' को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघिको खेलमा नेपालले भुटानलाई ४-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ श्रीलंका लगातार दुई हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकाले प्रतियोगिताको आफ्नो पहिलो खेलमा भुटानसँग ५-० गोलअन्तरको पराजय ब्यहोरेको थियो। समूह 'बी'बाट नेपाल विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन्। अर्कोतर्फ समूह 'ए' बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान बनाउँदा पाकिस्तान र माल्दिभ्स बाहिरिएका छन्। समूह 'ए' अन्तर्गत मंगलवार पहिलो खेलमा सान्त्वन जितका लागि पाकिस्तान र माल्दिभ्स भिड्ने छन् भने समूह विजेताको होडमा रहेका भारत र बंगलादेश दोस्रो खेलमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell