PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सामाजिक सञ्जालमा बच्चा अपहरणको अफवाहः बारामा महिलामाथि निर्घात कुटपिट, प्रहरी भन्छ -अनावश्यक हल्ला फैलाइयो



पहिलोपोस्ट

सामाजिक सञ्जालमा बच्चा अपहरणको अफवाहः बारामा महिलामाथि निर्घात कुटपिट, प्रहरी भन्छ -अनावश्यक हल्ला फैलाइयो
प्रतीकात्मक फोटो: घटनासँग सम्बन्धित छैन। फोटोः newsato.com

  • राधेश्याम पटेल/रमेश पराजुली-

वीरगंज/बुटवलः पछिल्ला केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीय नागरिकहरुले बालबालिकालाई अपहरण गरेर लैजाने गरेको विषय सामाजिक सञ्जालमा फैलिएको छ। फेसबुक, टिकटक र ट्वीटर प्रयोगकर्ताले यस्ता पोस्ट सेयर गरेका छन्। केही ठाउँमा बच्चा चोरको आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरेका घटना पनि सार्वजनिक भएका छन्।

भारतबाट आएको बच्चा चोर्ने गिरोह सक्रिय भएको भन्दै शेयर भएका सामाग्रीले अभिभावक र बालबालिकालाई झस्काएको छ।

आइतबार साँझ बुटवलकी एक बालिकालाई भारतीय महिलाले अपहरण गरेर लैजाँदै गरेको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मंगलापुरबाट नियन्त्रणमा लिएको भन्दै हल्ला फैलाइयो। चाउमिन खुवाउने भनी फकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रमा लिएको भन्दै फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भए। प्रहरीले सोधपुछ गर्दा बालिका ती महिलाको आफ्नै छोरी भएको खुल्यो। तर, वास्तविकता नबुझी सामाजिक सञ्जालमा भाइरल भएका सामाग्री अहिले पनि शेयर भइरहेका छन्।

गत शुक्रबार बिहान विद्यालय जान हिँडेका बुटवल ११ दुर्गानगरका तीन बालक हराएको खबर प्रहरीलाई आयो। १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय नपुगी बाटोबाटै बेपत्ता भएका थिए। विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए। बालक हराएको खबर पाएपछि रुपन्देही प्रहरीले खोजी सुरु गर्‍यो। शनिबार राति भारतको मुम्बईमा बालक फेला परेको जानकारी आयो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार उनीहरूलाई कसैले अपहरण गरेर भारत पुर्‍याएको पुष्टि भएको छैन।

‘परिवारमार्फत बालकहरू सम्पर्कमा आएको खबर पाएका छौँ। अब बालकहरू नेपाल आएपछि नै उनीहरू किन कसरी गए भन्ने कुरा थप अनुसन्धानपछि खुल्छ’, प्रमुख केसीले भने।

सम्पर्कविहीन भएकामध्ये समीरका बुबा भारतमा रहेको खुलेको छ। ती बालक भारत पुग्नुमा अन्य व्यक्तिको संलग्नता भएको नदेखिएको उनले बताए।

सोमबार रुपन्देही प्रहरीले एक सूचना जारी गर्दै बच्चा चोरको गलत हल्ला फैलिएको र त्यसमा कुनै सत्यता नरहेको जानकारी गराएको छ।

‘बिगत केही दिनदेखि भारतको सीमावर्ती क्षेत्रहरुमा बालबालिका चोरी गर्ने गिरोह प्रवेश गरी बालबालिकाहरुलाई विभिन्न डर तथा प्रलोभन देखाई, ललाई फकाई लठ्ठ बनाई लिएर हिँड्ने गरेको भनी सामाजिक सञ्जालमा विभिन्न खालका टिका-टिप्पणी तथा फोटो भिडियोसमेत राखी अफवाह फैलाउने कार्य भइरहेकोले त्यसमा कुनै सत्यता नरहेको जानकारी गराउछौँ’, प्रहरीको सूचनामा भनिएको छ।

विद्यालय हिँडेका बालकलाई अपहरण गरी भारत पुर्‍याइएको खबर सार्वजनीक भएपछि रूपन्देहीका विद्यालयले बालबालिकाको विशेष ख्याल गर्न आग्रह गरेका छन्। जिल्लाका विभिन्न स्कुल र अभिभावक महासंघले सूचना प्रकाशित गर्दै बच्चा चोरेर लैजाने गिरोह भारतबाट आएको भन्दै विद्यालय समयभन्दा छिटो गरी बालबालिकालाई स्कुल नपठाउन समेत निर्देश गरेका छन्। जसले गर्दा यहाँका बालबालिका र अभिभावक त्रसित छन्।

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सार्वजनिक भइरहेका घटनाले बालबालिकालाई मनोवैज्ञानिक रुपमा असर गरेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जिल्लामा कुनै पनि बच्चा अपहरण भयो भन्ने उजुरी नपरेको जानकारी दिए।

‘कही नयाँ मानिस देख्यो भन्ने बच्चा चोरी गर्न आयो भन्ने हल्ला फैलाइएको छ’ प्रवक्ता अर्यालले भने, ‘आफ्ना बच्चा ख्याल गर्नु राम्रो हो तर, अनावश्यक हाउगुजी बढी बनाइएको छ।’

सामाजिक सञ्जालमा भाइरल फोटो, भिडिओलाई गलत ढंगले प्रचार गर्दा अहिले बच्चा चोरको गलत हल्ला फैलिएको उनले बताए ।

बारामा महिलामाथि निर्घात कुटपिट

यस्तै बारामा बच्चा चोरेको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। जिल्ला अदालतमा श्रीमानसँगको अंश मुद्दाको तारेख लिन पुगेकी महिलामाथी कुटपिट भएको हो। वीरगंज -२३ प्रसौनीविर्ता घर भएकी भई हाल बारा, परवानीपुर ५ बहुअरी हनुमान मन्दिर बस्ने धुपिया देवी चमइनमाथि कुटपिट भएको हो। कलैयाकै लालबाबु साहको छोरी चोरेको आरोपमा आइतबार उनीमाथि कुटपिट भएको हो।

छानबिनमा उनी निर्दोष देखिएपछि उनलाई बारा प्रहरीले राति ९ बजे घर पुर्‍याइदिएको थियो।

मुद्दाको तारेख लिन ५ वर्षीय नातिनी आकृति कुमारीसँग बारा जिल्ला अदालतमा जाँदै थिइन्। बाटोमा तिर्खा लागेपछि नातिनीलाई सडक छेउमै राखेर एउटा धारामा पानी खान गइन्। त्यतिकैमा स्थानीय लालबाबु साहको परिवारले बच्चा चोर्ने महिला भनेर शंका लागेर उक्त घटना भएको हो।

पानी खाएर फर्किँदा नातिनी नभेटेपछि घुपिया साहको घरमा पुगेकी थिइन्। त्यसपछि बच्चा चोर आएको भन्दै कुटपिट भएको हो। कुटपिटसँगै उनलाई प्रहरीलाई बुझाइएको थियो। कुटपिटमा उनको टाउको फुटेको छ।

घटनाबारे बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी भने, ‘बच्चा चोर्न भारतबाट एउटा गिरोह नेपाल पसेको हल्ला चलेको छ। तर छानिबिनमा सबै घटना फेक साबित भइरहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell