PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द



रासस

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बागलुङ : बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए। गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए। शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन्।

रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ।

'बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ। लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ', घर्तीले भने। गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell