PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ऐना झ्यालको पुतली : पुतली बन्ने रहरको कथा



लक्ष्मी बलायर

ऐना झ्यालको पुतली : पुतली बन्ने रहरको कथा

सिसाको बट्टाभित्रको झुसिलकीराले पुतलीको रुप लिन्छ। त्यही पुतलीलाई स्वतन्त्र बनाउँछिन् विद्या(कञ्चन चिमोरिया)ले। विद्याका भाइ वसन्त (दिनेश खत्री) माथि माथि उडेको पुतली हेरेर दंग हुन्छन्।

गत शुक्रवारबाट हलहरुमा लागेको फिल्म 'ऐना झ्यालको पुतली'को 'इक्स्पोजिसन' हो यो। १३ वर्षीया विद्या पढाईमा अब्बल हुन्छिन्। उनकै उदाहरण दिँदै आमा (सिरु विष्ट) ९ वर्षे वसन्तलाई पढ्न उत्प्रेरित गर्छिन्। तर वसन्तलाई पढ्न मन लागे पो। बाङ्गे (उमेश श्रेष्ठ)को संगत, फिल्म हेर्ने लत, घरको खटपट यस्तै अनेकन बाध्यताले पढाई प्रभावित छ।

विद्या यही अभावलाई चिरेर सफल बन्न चाहने हुटहुटी भएकी पात्र हुन्। फिल्म कथावस्तु उनकै वरपर घुमेको छ। जसरी हुन्छ पढाई राम्रो गर्ने इख हुन्छ उनमा। शहरको विद्यालय भर्ना भएर पढ्ने ठुलो धोको छ। तर विवशता, सधैं पहिलो हुने विद्या कक्षा ८ को जिल्लास्तरीय परीक्षामा दोस्रो हुन्छिन्। अनि छात्रवृत्ति नपाउने भएसँगै उनको सपनामा 'ब्रेक' लाग्छ।

शहरमा पढ्न नपाउने डरले यो कुरा उनले आमालाई सुनाउँदिनन्। तर भाइ वसन्तले यो पोल खोल्दिन्छन्। यसले पारु(मल्लिका श्रेष्ठ)को अगाडि विद्याको शिर निहुरिन्छ। जसरी परीक्षामा पहिलोबाट दोस्रोमा पुग्छिन्, शहरमा पढ्ने उनको सपना पनि विस्तारै दोस्रो प्राथमिकतामा पर्छ। पैसा चोरी, बुवाको वेवास्ता यस्तै यस्तैले धकेलिन्छ एक वर्षपछिका लागि उनको सपना। पुतली स्वतन्त्र बनाउने विद्याले 'लिड' गर्दै दर्शकलाई बाल्यकालसम्मै पुर्‍याउँछ फिल्मले।

नयाँ किताबको बासना सुघ्ने, पैसाको खोजीमा बुवाको खल्ती खोतल्ने, हासीमजाकमा साथीहरुले कट्टु खोल्ने, दिदीभाइबीच पोल खोलाखोल गर्ने, तेल पोखाउनेदेखि नेपाली जीवनशैलीको 'स्लाइस अफ लाइफ' लाई उनेका छन् लेखक तथा निर्देशक सुजित बिडारीले। २०५२ साल तिरका पृष्ठभूमिलाई दुरुस्त उतारिएको छ फिल्ममा। बाल्यकालको सपना, दिदीबहिनी/दाजुबहिनीबीचको नोकझोक, बाल्यकालमा गरिने फट्याई र साथीबीचमा माया/झगडा लगायतका कुराहरुलाई थप बुट्टा भरेका छन्।

बालबालिकाका विषयमा फिल्म बनाउनु आफै चुनौतिको विषय हो, त्यसमाथि यस्ता फिल्मलाई हलसम्म लैजानु अझ गाह्रो विषय। तर सुजितले आँटे, बन्यो र दर्शक हलसम्म डोहोरिएका छन् 'ऐना झ्यालको पुतली' हेर्न।

फिल्ममा कलाकारहरुको जीवन्त अभिनय अर्को राम्रो पक्ष हो। सिरु बिष्ट, कञ्चन चिमोरिया, दिनेश खत्री, राज थापा, क्षितिज लिम्बु, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठहरुको अभिनयलाई खोट लगाउने ठाउँ छैन। फिल्ममा प्रयोग गरिएको 'ब्याकग्राउण्ड साउण्ड'ले पनि दर्शकलाई 'कनेक्ट' गराउँछ। रेडियोमा बज्ने समाचारले फिल्मको कथा सेटअप समय पृष्टि गर्छ।

कथालाई सरल तरिकाले प्रस्तुत गरिएको छ। जोकोही दर्शकको आँखामा पटकपटक आँशु छचल्काउँछ फिल्मले।

विद्या र वसन्त जति झगडा गर्छन्, त्यति नै उनीहरूबिच प्रेम छ। फिल्ममा एक दृश्य छ। कक्षा ८ मा पहिलो हुने पात्रले माफी माग्दै कविता प्रतियोगितामा भाग लिन चिठी पठाएको हुन्छ। विद्या कतै पुरस्कृत भाइहालिन्छ कि भनेर कविता लेख्छिन्। जुन कविता भाइ वसन्तलाई कविता प्रतियोगिताका लागि विद्यालयमा दिन भन्छिन्। तर उनले रिसको झोंकमा कविता बाँसको झ्याङमा फालिदिन्छन्।

आफ्नो कारण दिदीलाई दु:खी देखेर वसन्त गल्ती सच्याउन खोज्छ। दिदीलाई कुनै समय मुनामा आफ्नो कविता पढ्ने खुब रहर जागेको थियो। यही सम्झेर पाले दाइलाई ‘मुना’ फालिएको कविता छाप्न पठाउँछन्।

खासै श्रृंगार नगर्ने विद्यालाई एकदिन मेकअप गर्न मन लाग्छ। मितिनीको कोठामा उनी ऐनाअगाडि आफूलाई राखेर आँखामा गाँजल र ओठमा लाली लगाउँछिन उनी। यस दृश्यले विद्याको चुलबुल मन र गुलाबी उमेरको संकेत गर्छ। किनकी लगत्तै विद्या रजस्वला हुन्छिन। पहिलोचोटि महिनावारी हुँदा दाजुभाइको मुख हेर्न नहुने प्रथालाई पनि फिल्ममा समेटिएको छ।

विद्याको पढाई दोस्रो प्राथमिकतामा परिहाल्यो नै। मितिनि र पारुको प्रभावमा विद्याको मन सामाजिक परिवेशतिरै ढल्किँदै गयो। आफ्नो जीवनजस्तै छोरीको नहोस् भनेर पढाईतिर जोड दिएकी आमाको मन पनि अब छोरीलाई कसरी हुन्छ उम्काउनेतिर ढल्किन्छ। त्यसपछि विद्याको मगनी हुन्छ अनि बिहे। टीकाटालोकै बेला वसन्तले ‘मुना’ किताबमा प्रकाशित दिदीको कविता वाचन गरेर सुनाउँछन्। पढाईलाई अधकल्चो छाडेर घरजमतिर लागेकी विद्यालाई मुनामा छापेको कविताको अब के मत्लब? पुतलीलाई स्वतन्त्र गराईदिने विद्या फिल्मको 'इन्डिङ'मा स्वतन्त्र हुनुपर्ने हो - तर  दर्शकले कल्पना गरेभन्दा फरक किसिमले सकिन्छ फिल्म।  

डेढ घण्टाको फिल्म सलल बगेको छ तर सबैथोक भए पनि केही नपुगे-नपुगेजस्तो लाग्छ।

विद्याका बुवालाई झलकझुलुक देखाउनु फिल्मको कमजोर पाटो हो। निर्देशक बिडारीले आफैले भोगेको कथामा फिल्म बनाएको भनिएता पनि बुवाको भूमिका अस्पष्ट छ। बुवा पात्रको आफ्नै दु:ख र बाध्यता हुन्छन्। तर, ती देखाउँदा विद्या र आमाको भूमिका फिल्ममा कमजोर हुन्छ भन्ने मानसिकता निर्देशकले बोकेको देखिन्छ। तर विद्या र उनकी आमालाई बलियो पात्रको रुपमा देखाउन खोजे पनि निर्देशक चिप्लिएका छन। बरु यहाँ विद्याकै भाइ वसन्त र उनको बुवा शक्तिशाली देखिएको छ।

धेरैले ऐना झ्यालको पुतलीलाई 'फेमिनिस्ट फिल्म' भनेका छन्। पुतली उडाउने, कक्षा ८ मा दोस्रो हुँदा 'रिटोटलिङ' गर्न खोज्ने, शहर पढ्न हठ कस्ने र धान चोर्दा बुवाबाट खोसेको दृश्यले उनलाई विद्रोही देखाउँछ।

आफ्नो जस्तै जिन्दगी भोग्न नपरोस् भनेर छोरीलाई पढाउने आमाको अडान देखाइएको छ। तर उनकी आमाले अचानक छोरीको बिहे गरिदिने निर्णयमा पुग्छिन्। विद्याले पनि बिहे गर्ने परिवारको निर्णयलाई प्रतिकार गर्दिनन्। पढ्नका लागि शहर जान मितिनिबाटै प्रभावित हुने विद्या बिहेका लागि तिनै मितिनिबाट प्रभावित भएको देखाइएको छ।

बरु बाङ्गेले काठमाडौं जाउ भन्दा पनि वसन्त गाउँ छाड्दैनन्। फिल्ममा घरको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा आएको महसुस वसन्तलाई गराउँछ। फिल्ममा वसन्तलाई चलाख पात्रका रुपमा स्थापित गरिएको छ। पालेसँग कुराकानी गर्दाको कुटनीति, मुना किताब लुट्न खोज्दाको प्रस्तुति, महिनावरी हुँदा दिदीलाई खिर ल्याइदिएको दृश्यले यो छर्लंग पार्छ।

यता विद्या भने पढाई खस्केसँगै पढ्नका लागि खर्च नजुटेपछि मितिनीको बिहे र पारुबाट प्रभावित भएर बिहे गर्न बाध्य बनाउँछिन्। निर्देशकले विद्या पात्रलाई 'अब्स्ट्याकल' को कुहिरोभित्र मात्रै घुमाउँछन्, अरु प्लट बनाएर 'ट्याकल' गर्न असफल देखिन्छन्। फिल्मको शुरुमा पुतलीलाई स्वतन्त्र छाड्ने विद्याको जीवन फिल्म सकिँदै गर्दा बट्टाभित्र थुनिन्छ। यहाँनेर नै निर्देशकले महिलालाई कमजोर साबित गरिदिएको देखिन्छ।

फिल्ममा पात्रहरु थुपरिएका छन्। विद्यालयका पाले दाइ, टेलिभिजनमा फिल्म देखाउने पात्र, बाङ्गेलाई लुट्ने र कुट्ने पात्रहरु, बाघचाल खेल्ने गोठालेको चिन्ता, मृत्यु भएका वसन्तको दाइको कथा, विद्याले सुनाएको भोक लागेको भाइको कथा, विद्यालाई दोस्रो पारी पहिलो हुनेहरु अक्कलझुक्लक देखाइएको छ। फिल्ममा थोपारिएका पात्रहरुलाई थप 'कनेक्टेड' गराउन नसक्दा सबैथोक भएर पनि के नपुगे नपुगेजस्तो बनेको छ फिल्म। ५० को दशकमा चामलको भात खान सक्ने परिवारलाई धनी मानिन्थ्यो। विद्याको घरमा प्राय चामलकै भात पाक्ने फिल्ममा देखिन्छ। अनि यस्तो अवस्थामा विद्यालाई पढाईको खर्च पुर्‍याउन मुश्किल हुने देखाउनु पनि अलि अस्वाभिक नै लाग्छ।  

अघिल्लो सोमवार अन्तर्वार्ताका क्रममा निर्देशक सुजित बिडारी निकै कन्फिडेन्ट देखिन्थे। फिल्म ‘ऐना झ्यालको पुतली’ हेर्दा दर्शकहरू पनि पात्रहरूसँगै यात्रा गर्ने उनको दाबी थियो।

साँच्चै, उनको दाबी सही छ त? यसको लागि त हल पुगेर डेढ घण्टा समय खर्च गर्नैपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell