PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बलात्कारपछि फरार व्यक्तिको न फोन नम्बर, न फोटो : प्रहरीलाई आरोपीसम्म पुग्नै सकस



रिना थापा

बलात्कारपछि फरार व्यक्तिको न फोन नम्बर, न फोटो : प्रहरीलाई आरोपीसम्म पुग्नै सकस
प्रतीकात्मक फोटो : wvtm13.com

पोखरा : पोखरा लेकसाइडको शान्ति नगरबाट घर जान सवारीसाधन कुरिरहेकी थिइन् एक युवती। भदौ १४ गते बिहान ६ बजेको समयमा बहिनीसँग छुट्टिएपछि जिरो छेउमा रहेको डेरासम्म पुग्न सवारीसाधन कुर्दै थिइन् उनी। त्यहीँबेला उनकै अगाडि आएर स्करपियो रोकियो। जिरो किलोमिटर छेउ रहेको उनको डेरासम्म छोड्दिने बताएपछि गाडीमा चढिन् उनी। तर, गाडीले उनलाई डेरा नभई माछापुच्छ्रे गाउँपालिका घाचोक पुर्‍यायो। उनलाई गाडीमा सवार भएका चालक र अन्यले ३३ घण्टासम्म बन्दी बनाई सामूहिक बलात्कार गरे।

यता, १४ गते साँझसम्म पनि युवती घरको सम्पर्कमा नआएपछि परिवारले सोही दिन साँझ जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो। युवती सम्पर्कविहिन भएको सूचना पाएपछि कास्की प्रहरीबाट प्रहरी निरीक्षक सुवास तिमिल्सिनाको नेतृत्वमा टोली खटियो। सम्पर्कविहिन भएकी २६ वर्षीय युवती १५ गते साँझ ७ बजे जिल्ला प्रहरी कार्यालयमा परिवारसँग आफैँ उपस्थित भइन्। पीडितले प्रहरी कार्यालयमा आएर अपहरण गरी जबरजस्ती करणी गरेको उजुरी दिइन्। उनकै बयानलाई आधार मानेर प्रहरी तत्काल अनुसन्धानमा खटियो। घटनाले मानसिक रुपमा विक्षिप्त बनेकी पीडितले प्रहरीलाई तीनवटा 'क्लु' दिएकी थिइन्। पीडितले दिएको क्लुलाई समातेर प्रहरी निरीक्षक तिमिल्सिनाको नेतृत्वमा प्रहरीको टोली खटियो।

पीडितले प्रहरी समक्ष घटनास्थल बंगुर फार्म रहेको, बसपार्क छेउछाउ प्रहरी बिट रहेको र पीडकको नाम बताएकी थिइन्। घटना भइरहँदा पीडकहरुले एकआपसमा संवाद गर्दा बोलाएको नाम प्रहरीको पहिलो क्लु बन्यो। त्यसपछि प्रहरीले प्रहरी बिट छेउछाउ बंगुर फार्म रहेको व्यक्तिको नाम सोधपुछ गर्‍यो। त्यसैको आधारमा प्रहरीले १६ गते चार जनालाई पक्राउ गर्‍यो। समातिएका पीडकको फोन सम्पर्कबाट बाँकी चार जनालाई सोही दिन पक्राउ गर्‍यो। एकजना भने अझै फरार रहेको कास्की प्रहरीले जानकारी दिएको छ।

‘स्करपियो गाडी आएपछि जिरो चोकसम्म छोड्दिन भनेको गाडीले घाचोक लिएर गयो। बोलेको सुनेको भरमा पीडितले नाम पनि भन्नुभयो। बसपार्कबाट हिँडेर १५–२० मिनेट लाग्थ्यो। बंगुर फार्म थियौं। पुलिसको चौकी नजिक थियो,’ पीडितको भनाइ उद्धत गर्दै तिमिल्सिनाले भने, ‘उहाँले भनेकै आधारमा हामीले खोजतलास गर्‍यौं। उहाँले दिएको डिटेलसँग मिलेपछि चार जनालाई सोही स्थानबाट पक्राउ गर्‍यौं। अरु चार जनालाई अन्य पीडकको फोन सम्पर्कको भरमा भलामबाट पक्राउ गर्‍यौं। एकजना ईश्वर श्रेष्ठ फरार छन्।’

पीडितले प्रहरी समक्ष बयान दिएअनुसार शान्ति नगर चोकबाट गाडीमा सवार हुँदा ६ जना थिए। ६ जनामध्ये दूई जना घटनास्थल गएनन्। पीडितलाई अपहरण गरेर घाचोक पुर्‍याएपछि घटनास्थलबाट नै थप दूई जना घटनामा संलग्न भएका हुन्। पीडितको बयानअनुसार उनलाई सात जनाले जबरजस्ती करणी गरेका हुन्। प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका आठजना मध्ये ६ जनालाई जबरजस्ती करणीको मुद्दा चलाइएको छ भने दूईजनालाई अपहरणको। फरार रहेका ईश्वर जबरजस्ती करणीमा संलग्न छन्।

घटना भएको २४ घण्टा नबित्दै एक्सनमा उत्रिएर आठजनालाई पक्राउ गर्न सफल बनेको प्रहरी भने एकजना अभियुक्तको तलासमा छ। प्रहरीसँग सो अभियुक्तको नाम र गृह जिल्लाको सूचनाबाहेक अन्य जानकारी छैन। फरार अभियुक्त घाचोकमा बनिरहेको पुलमा मजदुर थिए।

‘पुल बन्दै गरेको त्यसैमा मजदुरी गर्छ भन्ने छ। नाममात्र खुल्यो। जिल्ला लमजुङ हो। मोबाइल नम्बर पनि छैन फोटो पनि छैन। त्यहीँ भएर अलि गाह्रो भयो। हामीले फलोअप गरिराखेका छौं,’ उनले भने।

१४ गते बिहान अपहरण गरेपछि पीडकले १५ गते दिउँसो ३ बजे घाचोकको बसपार्कमा पीडितलाई ल्याई छोडिदिएका थिए। त्यत्तिन्जेलसम्म पीडितको अवस्थामा नाजुक बनिसकेको थियो। प्रहरीका अनुसार अहिले पीडितको स्वास्थ्य अवस्था ठीक रहेको छ भने उनी परिवारको परामर्शमा सुरक्षित छिन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका ३ बस्ने २९ वर्षीय अनुप अधिकारी, वर्ष ३१ का अमृतज्यु ठकुरी, वर्ष ३० का राजिब जिसी, वर्ष २४ का सञ्जीत नेपाली, वडा ४ बस्ने वर्ष २४ का सन्जु शाही, वडा ३ बस्ने वर्ष ३० का सन्तोष दवाडी, २० वर्षीय साजन दवाडी र वडा ३ बस्ने वर्ष २८ का रामेश्वर धिताल छन्।

उनीहरुलाई पहिलोपटक १७ गते कास्की जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थपिएको थियो भने दोस्रोपटक २३ गते पाँचको दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फरार अभियुक्तको पनि खोजी कार्य जारी भएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell