PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लि चान्शु र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता



पहिलोपोस्ट

लि चान्शु र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुबिच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबिच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष लि सोमवार काठमाडौं आइपुगेका हुन्। सोही दिन सभामुख सापकोटा र अध्यक्ष लिले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

अध्यक्ष लिले भदौ २९ गते बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि अध्यक्ष लिले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन्। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लिले आज भेट गर्ने कार्यक्रम छ। 

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लिले आज भेटवार्ता गर्नेछन्।  भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने भएको छ। 

पढ्नुस :  चिनियाँ पाहुनाको उच्चस्तरीय राजनीतिक भेटघाट : उपत्यकाका यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

यस्तै, चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। अध्यक्ष लिको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अध्यक्ष लि भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीवार बिहान स्वदेश फर्कने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell