हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ। यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए।
उनका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका छन्। समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री लामाले बताए।
भाषा आयोगको सिफारिसमा सोमबारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको लामाले बताए।
गत भदौ १ गते प्रदेशका स्वास्थ्य मन्त्री लामाले भाषा आयोगले सिफारिस गरिसकेकोले नेवार र तामाङ भाषालाई प्रदेशको सरकारकी कामकाजको भाषा बनाउन गाह्रो नहुने बताएका थिए।
'भाषा आयोगले नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ,' तामाङ पत्रकार संघले आयोजना गरेको तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा लामाले भनेका थिए, 'प्रदेशले भाषा आयोग बनाएर भए पनि अघि बढाउने तयारी गरिसकेको छ। यो मुभ हुन्छ। यसलाई पारित गर्न कठिन छैन।'