PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्नेमा पूर्वराष्ट्रपति यादव विश्वस्त



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गर्नेमा पूर्वराष्ट्रपति यादव विश्वस्त

काठमाडौं : पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।

'संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ। यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु,' उनले भने।

नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि अहिले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको छ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरि सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनःविचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो।

सन्देशमा ‘संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता गरिएको हुनाले कानुनको तत्काल आवश्यक रहेको बारेमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन’ भन्ने लगायतका विषयबस्तु उल्लेख छ।

सन्देशसहित फिर्ता आएको विधेयकलाई सरकार र सदनले प्रतिनिधिसभा, राष्ट्रियसभा र विधायन समितिमा आवश्यक छलफलपछि पुनःपारित गरि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको हो। संविधान संरक्षकका हैसियतले राष्ट्रपति भण्डारीले विधेयकका सम्बन्धमा उठेका विभिन्न प्रश्नका बारेमा समाजका विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग राय परामर्श लिएकी थिइन्।

यता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादव भने राष्ट्रपति संविधानभन्दा बाहिर जान नहुने बताउँछन्।

'राष्ट्रपति, सरकार, संसद् र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔँ, संविधानलाई सहजरुपमा सुचारु हुने काम गरौँ,' उनले भने। राष्ट्रपतिले कुनै विषयमा अलमल भएमा विषयविज्ञ, संविधान र कानुनविद्सँग गरिएको परामर्शका आधारमा अघि बढ्न सकिने भन्दै आफ्नो अनुभवसमेत सुनाएका छन्।।

'राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लङ्घन गर्न हुन्न। विषयविज्ञ भन्दा बाहिरका व्यक्तिसँग हुने छलफल र परामर्शले शङ्का उपशङ्का पैदा हुन्छ। त्यसैले सबैले संविधानले दिएको अधिकार प्रयोग गरेर यसैको परिधिभित्र रहेर काम गरौँ, समस्या समाधानको यो नै उत्तम उपाय हो,' उनले भने।

अघिल्ला संविधानमा जस्तो राष्ट्रपतिलाई न्यायालयबाट सल्लाह र सुझाव लिने तथा प्रोत्साहन र सचेत गराउने व्यवस्था नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले विधायिका, कार्यपालिका, व्यवस्थापिका र राष्ट्राध्यक्ष संस्थाले संविधानले दिएको अधिकार एवं परिधिभित्र रही संविधानलाई सहज कार्यान्वयन गर्न योगदान पुर्‍याउनुपर्ने बताए।

'राष्ट्रपतिको मर्यादा र सीमा संविधानले तोकिदिएको छ। संसारको परम्परा पनि हेर्नुपर्छ। राष्ट्रपतिले विधेयक स्वीकार गरी प्रमाणीकरण गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। हामीले सबैलाई समेटेर लैजानुपर्छ,' उनले भने।

संविधान प्रारम्भ हुनुअघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएको अवस्थामा वंशजका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था कार्यान्वयनका लागि उक्त कानुन ल्याउन परेको गठबन्धन सरकारमा रहेका दलहरुले बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell