
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ नाकामा रोकिएका कन्टेनर छुटाउन चिनियाँ नेतासँग अनुरोध गरेका छन्। नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न समेत आग्रह गरे। चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड-१९ को संक्रमण बढ्दै जाँदा समान बोकेर नेपाल हिँडेका कन्टेनरहरु सीमा नाकामै रोकिएका छन्।
त्यस्तै, अध्यक्ष प्रचण्डले नेपाल र चीनबिच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ। मंगलवार बिहान बानेश्वरस्थित संसद् भवनमा भएको भेटका क्रममा उनले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरेका थिए।
प्रचण्डले बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनसमेत अुनरोध गरेको उनको सचिवालयले जनाएको छ।
दुई पार्टीबिचको सम्बन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको भन्दै सीपीसीको महाधिवेशनको सफलताको कामना गरेका छन्।
‘हामी चिनियाँ कम्युनिस्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं। राष्ट्रपति सी चिनफिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्,’ उनले भनेका छन्।
सीपीसीको २० औं महाधिवेशन अक्टोवर १६ देखि बेइजिङमा सुरु हुँदै छ।
प्रचण्डले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने विश्वास चिनियाँ टोलीलाई गराएका छन्।
भेटमा अध्यक्ष लिले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताए। साथै, उनले एक चीन नीति र चीनको सुरक्षा चासोमा नेपाल सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल-चीनबिचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।