PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पानीको श्रोतबारेको विवादित टिप्पणीमा गुणादीवासीसँग नेता पौडेलले मागे माफी



पहिलोपोस्ट

पानीको श्रोतबारेको विवादित टिप्पणीमा गुणादीवासीसँग नेता पौडेलले मागे माफी
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीवासीसँग माफी मागेका छन्। गुणादीको पानीको श्रोतबारे आफूले गरेको टिप्पणीले गुणादीवासीको भावनामा ठेस पुगेकोमा उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।

गत साता दमौलीमा आयोजित एक कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको बताएका छन्। त्यसअघि गुणादीलगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या रहेको आफूले बताएको उनले जानकारी दिए।

‘दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गामिश्रित पानी वितरणमा जोडिने गरेको हो। प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन्। मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु,’ उनले भनेका छन्।

विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हाशिल गर्नुपर्ने र जनतालाई सेवा पुग्नुपर्ने उनको भनाइ थियो। जनताको स्वास्थ र जनताको हितविपरीत कुनै काम गर्नु राम्रो नभएको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने उनले बताए।

उनले भने, ‘मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन। एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु।’

गुणादीको पानीको श्रोतबारे नेता पौडेलले टिप्पणी गरेपछि गुणादीवासीले पानी बन्द गरेका थिए। पौडेलले आफ्नो बोली फिर्ता नलिएसम्म पानी नखोल्ने स्थानीयले चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell