हेटौँडा : वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौँडा बजारभित्र १६-१६ मिटर सडक विस्तार गरिने बताएका छन्। चौकीटोल, राप्तीबगर हुँदै चुरियामाई निकाल्ने बाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर चौडा गरिने बताए।
बजारभित्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउने र बाइपास सडकलाई रागर्माग बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको उनले बताए। तत्कालीन सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले निर्णय सार्वजनिक गर्दा चितवनले कार्यान्वयन गरेको तर हेटौँडाले कार्यान्वयन गर्न नसकेकाले यस्तो सिर्जना निर्माण भएको बताए।
हेटौँडा बजार क्षेत्रका सडक विस्तारको विषयको मकवानपुर उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको छ। मंगलवार वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हेटौँडा बजारभित्रको सडक १६ मिटर दायाँबायाँ विस्तार गर्न आवश्यक छलफल र कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाइएको हो।
संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालसहितको टोलीले मुख्यमन्त्री पाण्डेलाई र पाण्डेमार्फत प्रधानमन्त्रीलाई समेत उक्त पत्र पठाइएको छ। पत्रमा शहरको बिच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी वैकल्पिक मार्ग निर्माण गरी उक्त मार्गलाई राष्ट्रिय राजमार्ग बनाउने, रातोमाटेदेखि चौकीटोलसम्म र बुद्धचोकदेखि राप्तीपुलसम्मको हाल भइरहेको सडकलाई नेपाल सरकारले शहरी मार्ग कायम गर्ने उल्लेख छ।
पत्रमा यी माग कार्यान्वयन भएमा घरजग्गा धनीहरुले आफ्नै खर्चमा सेडव्याक सहित सडकको मध्यभाग बाट १६ मिटरले हुने स्थानसम्म घरटहरा भत्काई क्षतिपूर्ति समेत नलिने र सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ।