PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने



पहिलोपोस्ट

हेटौँडाको हटियामा वाग्मती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौँडा : वाग्मती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।

करिब ५ वर्षसम्म जग्गा छनोट गर्न नसकेर अलमलमा परेको वाग्मती प्रदेश सरकारले प्रदेशको ‘सिंहदरबार’ अर्थात मुख्यमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्को कार्यालय तथा सांसद भवन सहितका कार्यालयहरु हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा निर्माण गर्ने भएको हो।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलवार हेटौँडा-१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्। उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाइएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए।

प्रादेशिक संरचना निर्माणका लागि चालू आव २०७९/८० मा १ अर्ब ५ करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री पाण्डेले बताए।

पाण्डेले भने, ‘जग्गा स्वीकृत भएको एक हप्ताभित्र संरचनाको डिजाइन र निर्माण दुवै काम गर्ने गरी टेण्डर आह्वान गर्छौँ।’

पाण्डेले पाँच वर्षसम्म साँघुरो तवरले काम गरिएको स्मरण गर्दै प्रदेश सरकारले आफ्ना प्रशासनिक भवनहरु बनाउनको लागि चालु आर्थिक वर्षमा १ अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको बताए। हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालयदेखि सम्पूर्ण मन्त्रालय, लोकसेवा आयोग, विभिन्न आयोगका कार्यालय तथा प्रहरी बिटहरु निर्माण हुने मुख्यमन्त्री पाण्डेको भनाइ छ।

हेटौँडाबाट करिब ११ किलोमिटर दुरीमा रहेको हटिया क्षेत्रमा बन्ने नयाँ मुकामले सो क्षेत्रमा प्रचुर मात्रामा सहरीकरण हुने संभावना पनि देखिएको छ। हेटौँडा उपमहानगरपालिका-१९ लेवटमा ८० बिघा जग्गा पहिचान गरिएको थियो।

यसैगरी, हेटौँडा-१६ मा ५४ बिघा, हेटौँडा-६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौँडा-९ लामसुरेमा १५ बिघा, हेटौँडा-१७ हटियास्थित डिपोचौरमा १२ बिघा, हेटौँडा-९ स्थित हेटौँडा सिमेन्टको स्वामित्व रहेको ५ बिघा, हेटौँडा-८ भोर्लेमा २ दशमलव १३ र हेटौँडा-१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जग्गा छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा-२ स्थित हालकै सरकारी अड्डा भएका क्षेत्रमा प्रादेशिक संरचना बनाउने गरी डीपीआर निर्माण गरेका थिए।

हाल मुख्यमन्त्री कार्यालय रहेको क्षेत्र साँघुरो रहेको भन्दै पाण्डे नेतृत्वको सरकारले प्रादेशिक संरचना हटियामा बनाउने निर्णय गरेको हो। हेटौँडाको मुख्य बजारबाट हटिया करिब १५ किलोमिटर दूरीमा छ। हटिया काठमाडौं-निजगढ द्रुतमार्गबाट नजिक र धरान-चतरा-हेटौँडा सडक खण्डसँग जोडिएको क्षेत्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell