PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

एक चीन नीतिप्रति देउवाले जनाए प्रतिबद्धता, लिले भने : नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सचेत छौं



पहिलोपोस्ट

एक चीन नीतिप्रति देउवाले जनाए प्रतिबद्धता, लिले भने : नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति सचेत छौं

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबिच बहुआयामिक सम्बन्ध रहेको बताएका छन्। चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन्।

त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसासमेत गरेका छन्।

सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबिचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष लि चान्शुले दुई देशबिच ६ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताएका थिए।

उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिएका थिए। अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबिच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरेका थिए।

यस्तै, उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell