
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ। एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बार्यनले बार्सिलोनामाथि २-० गोलको सहज जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा लुकास हेर्नान्डेजले जोसुवा किममिचको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यसको ४ मिनेट नबित्दै लेरोए सानेले जमल मुसिअलको पासमा अग्रता बनाए। अर्कोतर्फ बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले पटकपटक अवसर बनाएर पनि गोल फर्काउन नसक्दा खेल २-० गोलले बार्यनले जित्यो।
त्यस्तै गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा चेक क्लब भिक्टोरिया प्लजेन इटालियन क्लब इन्टरमिलानसँग २-० गोलले पराजित भयो। डोसन एरेनासमा सम्पन्न खेलमा घरेलु टोलीलाई हराउन इन्टर मिलानका एडिन जेको २० र डेनजेल डुमफ्राइसले ७० औं मिनेटमा गोल गरे। खेलको ६१ औं मिनेटमा पावेल बुच्चाले रेडकार्ड ब्यहोर्दा भिक्टोरिया १० खेलाडीमा सीमित भएको थियो।
योसँगै लगातार दुई जित निकालेको बार्यन समूहको शीर्षस्थानमा छ भने समान ३ अंक जोडेका बार्सिलोना र इन्टर मिलान दोस्रो र तेस्रो स्थानमा छन्। लगातार दुई खेलमा पराजय ब्यहोरेको इन्टर मिलान अंकविहीन रहँदा तालिकाको पुछारमा छ।