PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नगरवासीसँग पोखराका मेयरको हतारोको ‘भेटघाट कार्यक्रम’ : सेवाग्राहीको आशा, 'समस्या सल्टिहाल्छ कि!'



रिना थापा

नगरवासीसँग पोखराका मेयरको हतारोको ‘भेटघाट कार्यक्रम’ : सेवाग्राहीको आशा, 'समस्या सल्टिहाल्छ कि!'

पोखरा : हातमा केही कागजात लिएर पर्खिदै थिए बसन्त भट्टराई। उनीमात्र होइन पोखरा महानगरपालिकाको कोठा नं १ मा प्रतीक्षमा थिए अरु पनि। उपस्थित धेरैको हातमा जग्गाको नक्सा, लालपुर्जा वा अन्य केही कागजात थियो। उनीहरु सबै पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई भेटेर समस्या सुनाउन भेला भएका। भदौ १२ गतेदेखि पोखरा महानगरले ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। त्योसँगै सेवाग्राहीले महानगर प्रमुखसँग प्रत्यक्ष भेटघाट गरेर गुनासो र सल्लाह सुझाव दिन भेटघाट कार्यक्रम पनि ल्याएको छ। त्यसैले पनि हिजोआज महानगरमा दिउँसो २ बजेदेखि ३ बजेसम्म गुनासो लिएर आउने र सल्लाह दिन चाहनेको भीड लाग्छ।

गुनासो सुनाउन र प्रमुख आचार्यलाई भेट्न सेवाग्राही समयमै आइपुग्छन्। मंगलवार पनि दिउँसो २ बजेको समयमा कोठा नं १ मा सेवाग्राहीको उपस्थिति बाक्लिसकेको थियो। तर, प्रमुख आचार्य साढे दुई हुनै लाग्दासम्म पनि आइपुगेनन्। त्यतिञ्जेलसम्म महानगरका कर्मचारी सेवाग्राहीको नाम टिपोट गर्दै थिए। प्रमुखलाई भेट्न आएका सेवाग्राही भने अन्योलमा। ‘आज मेयरसाब आउनु हुन्न? फोन गरेर बुझ्नु न एकफेर। अन्तै कार्यक्रममा व्यस्त हुनु भो कि!’ आफ्नो अन्यौलता मेटाउन कार्यालयका कर्मचारीलाई बेलाबेला सोधिरहन्थे सेवाग्राही।

केहीबेरमै टुपलुक्क आइपुगे प्रमुख आचार्य। कुर्सीको अन्तिम लाइनमा बसेका बसन्त पनि ढुक्क भए। नाम टिपाउन हतार गरिरहेका सेवाग्राहीहरु प्नि गुनासो पोख्नमा एकाएक हतारो गर्न थाले। 

हतारमै देखिएका प्रमुख आचार्य पनि ढिला नगरी गुनासो सुन्न सेवाग्राहीको नाम डाँक्न कर्मचारीलाई लगाए। सेवाग्राहीले नाम टिपाउने होडबाजी गरेपनि भेटघाट कार्यक्रममा सुरुआती अवसर परिचित र चिनेजानेका अनुहारले नै पाउँछन्। अनिमात्र आउँछ बसन्त र अन्य सेवाग्राहीहरुको पालो।

कर्मचारी टिपोट गरेको नाम बोलाउँदै जान्छन्। सेवाग्राही हातमा भएका कागजात प्रमुख समक्ष राख्दै गुनासो सुनाउँछन्। कोही बाटोको समस्या राख्छन् त कोही जग्गा विवादका विषयमा। प्रमुख आचार्यले सेवाग्राहीको छोटो गुनासो सुन्छन्। नम्बर टिप्छन् र उनीहरुले  दिएको कागजात टेबल छेउकै कर्मचारीलाई दिन्छन्। र,सेवाग्राहीलाई छोटो र छिटो प्रतिक्रिया दिन्छन् – तपाईँको कागज हेर्छौ। त्यसपछि बोलाउँछौं।

केहीले प्रमुख समक्ष गुनासो राखेपछि पालो आउँछ बसन्तको। वडा ८ रत्नचोक निवासी उनले ल्याएको समस्या उनको व्यक्तिगत नभई टोलको हो। बसन्तको टोलमा सवारीसाधन प्रवेशका लागि बाटो छैन। नक्सामा मोटरबाटोको लागि जग्गा देखिएपनि व्यक्तिले जग्गा मिच्दा सवारीसाधन जाने बाटो नपुगेको हो।

‘नक्सामा बाटो प्रष्ट देखिएको छ। चारवटा घरका व्यक्तिले बाटो जग्गा मिच्दा हाम्रो टोलमा आउनका लागि एम्बुलेन्स आउनेसमेत बाटो नभएको हो,’ उनले भने।

बसन्त र उनका टोलबासीले यो समस्या वडामा पुर्‍याएका थिए। समस्या लिएर सम्बन्धित निकाय सामु धाएको वर्षौ भइसक्यो। तर, समस्या उस्तै। वडाले पनि समस्या पार लगाउन सकेन। वडाले महानगरपालिकालाई इन्जिनियर पठाउन आग्रह पनि गरेको थियो। महानगरबाट इन्जिनियर पुगेर समाधानका लागि बैठक बस्न खोज्दा जग्गा धनी अनुपस्थित भए। यहीँ समस्या लिएर आएका उनले ल्याएको जग्गाको नक्साको कागज प्रमुखलाई बुझाए। प्रमुख आचार्यले महानगरले दोहोरै समूहलाई बोलाएर समस्या समाधान गर्ने आश्वासन दिए।

प्रमुख समक्ष नै समस्या राख्दा समाधान हुन्छ कि आशावादी छन् उनी पनि। ‘अरु त केही भन्नु भएन। दोहोरै समूहलाई बोलाउँछौं र हेर्छौ भन्नु भएछ। यति भएपछि समस्या समाधान होला नि,’ प्रमुखलाई भेटेपछि उनी आशावादी सुनिए।

गुनासो सुनाउन चाहानेको भिडमा रुपाकोटबाट आएको एउटा टोलि पनि थियो। रुपाताल संरक्षणका लागि वरपर रहेका जग्गा रोक्का रहेका विषयमा उनीहरुको गुनासो थियो। वर्षोँदेखि रोक्का भएको जग्गा कि त फुकुवा हुनुपर्ने नभए मुआब्जा उपलब्ध गराउनुपर्ने उनीहरुको भनाइ थियो। अधिवक्ता धुब्र मोहन भट्टराईको नेतृत्वमा टोलीले सर्वोच्च अदालतमा निवेदन पनि दिएको थियो। २०७५ वैशाख १६ गते सर्वोच्च अदालतले निवेदकहरुलाई उचित मुआब्जा प्रदान गर्न र ताल संरक्षणका लागि जग्गा रोक्न राख्न नपर्ने जग्गा फुकुवा गर्न परमादेश जारी गरेको थियो। जसको सुनुवाइ आजसम्म भएको छैन। यहीँ विषय लिएर स्थानीयसमेत रहेका अधिवक्ता भट्टराई महानगर आइपुगेका थिए।

ताल संरक्षणसँग जोडिएको विषय भएका कारण प्रमुखले सो विषय उपत्यका नगर विकासमा निवेदन दिन आग्रह गरे। उनको प्रतिक्रिया सुनेर काम नहुने आशंका राख्दै भट्टराईले पहिला पनि गुनासो राखिसकेको प्रमुख समक्ष राखे।

उनको प्रतिक्रियामा प्रमुखको जवाफ थियो – पहिलाका कुरा नगर, अब के गर्ने भन्नेमा कुरा गरौं। प्रमुखले प्रतिवेदन हेरेर समस्या समाधान गर्ने आश्वासन दिएपनि आशंका राख्छन् भट्टराई।

‘प्रतिवेदन दिएको छ त्यसको आधारमा माइनट बसेर टुंग्याउँछौं भन्नु भाछ सरले। उपत्यका नगर विकास समितिमा निवेदन दिने भन्नुभयो,’ उनले भने, ‘तर, यस्ता कुरा क्रोनिक भइसक्यो यहाँ त सुनुवाइ नै हुँदैन उपत्यका नगर विकास समिति पटकपटक बस्छमात्र।’

प्रमुख समक्ष गुनासोमात्र होइन सुझाव लिएर पनि आइपुग्छन् सेवाग्राही। अधिकांश सुझाव सडकको खाल्डाखुल्डी पुर्नुपर्ने विषय। ठुला समस्या हेर्दा साना समस्यालाई बिर्सिन नहुने उपस्थित एक सेवाग्राहीको सल्लाह थियो।

‘ठुला समस्या हेर्दा साना समस्या नबिर्सौ। बाटोको खाल्डाखुल्डी पुर्नेतिर पनि ध्यान दिऔं,’ ती सेवाग्राहीको सुझाव थियो।

मंगलवारमात्र प्रमुख भेटघाट गर्न २५ जनाले नाम टिपाए। उनले आधा घण्टामा नै सबैसँग भेट गरेर गुनासो र सल्लाह सुन्न भ्याएँ। समस्या लिएर आउनेमा केही टोली पनि थिए। आउँदा पनि हतारमै देखिएका प्रमुखलाई ३ बज्न साथ भेटघाटको कोठा छोड्न हतार भइसकेको थियो।

यद्यपि भेटघाटका समयमा आएका गुनासो र सुझावप्रति महानगरले तत्काल रेस्पोन्स गर्ने गरेको प्रमुख आचार्यको भनाइ छ। 

‘हामीले जूनजून शाखको समस्या हो त्यसलाई सोहीदिनमै पठाउने गर्या छ त्यस पछाडि भोलिपल्टसम्म त्यसको रेस्पोन्स के भयो भन्नेबारे जानकारी दिन्छौं। सुझाव दिनेलाई पनि हामी रेस्पोन्स पठाउँछौं,’ उनले भने, ‘कतिपय लामो समय लाग्ने गुनासो र सुझावबाहेक तत्काल गर्नुपर्ने रेस्पोन्स भाछन् समय लाग्ने प्रक्रियागत विषय हुँदैछन्।’

उनका अनुसार समय नलिई भेट्न आउने सेवाग्राहीका लागि यो कार्यक्रम प्रभावकारी रहेको छ। जसमा उनका अनुसार सामान्यतय ५० देखि एकसय भेटघाटका लागि आइपुग्छन्।

कस्ता समस्या आउँछन् ‘हेल्लो मेयर’मा?

एकै दिनबाट सञ्चालनमा ल्याएको कार्यक्रम हेल्लो मेयरमा महानगरवासीले टोल फ्री नम्बर ११८१ मा फोन गरेर सुझाव र गुनासो पोख्न पाउँछन्। जसमा दैनिक २० भन्दा बढी गुनासो आउने गरेको कार्यक्रम संयोजक माया गुरुङले बताइन्। उनकाअनुसार सुरुआतको दिनमा खाल्डाखुल्डी र भौतिक पूर्वाधारको गुनासो आउँथ्यो। कार्यक्रमबारे थप सेवाग्राहीहरु जनकार भएपछि पछिल्लो हप्तादेखि विविध गुनासो आएको उनकोे भनाइ छ।

हेल्लो मेयरमा हिजोआज पानी नआउनेदेखि बत्ती गएको गुनासोसमेत आउन थालेको छ। ‘पहिला खाल्डाखुल्डी र पूर्वाधारको मात्र आउँथ्यो। आजकल मिस्क आउँछ। पानी नआएको देखि सबै। जिप्रकाबाट पनि सुझाव आएको छ,’ उनले भनिन्।

मंगलवार बिहानमात्र सृजनाचोकको आकाशे पुल भाँसिएको जानकारी जिल्ला प्रहरी कार्यालयले महानगरलाई हेल्लो मेयरमार्फत जानकारी गराएको थियो।

महानगरले यो कार्यक्रमलाई कार्यालय समयमा सञ्चालन गर्दै आइरहेको छ। जसको एकल भार गुरुङलाई मात्र छ। पछिल्लो समय कार्यक्रममा गुनासोसँगै सुझाव गर्नेको संख्या बढिरहेको छ। बिहानदेखि साँझसम्म आएको गुनासोलाई टिपोट गरेर प्रमुख आचार्यको कार्यालयमा पठाउँछिन्। यसबाहेक केही तत्काल रेस्पोन्स गर्नुपर्ने गुनासो आए समयमै सम्बन्धित शाखालाई जानकारी दिँदै आएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell