111.jpg)
काठमाडौं : आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई छलफलको लागि बोलाउने निर्णय गरेको छ। आरोपी व्यक्तिलाई आज नै पत्रचार गरिने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए।
बहालबाला न्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पूर्व अध्यक्षहरु र वरिष्ठ अधिवक्ताहरुलाई बोलाउने निर्णय गरेको हो। गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो। जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत आरोपहरु लागेका छन्।
जबराले ४३ वटा मुल प्रश्नको जवाफ दिएका थिए। जबराले पहिलो दिनको बयानमा न्यायाधीश, नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए। दोस्रो दिनमा उनले संसद् र सांसदमाथि नै प्रश्न तेर्साएका थिए। तेस्रो दिन सशस्त्र प्रहरीका पूर्व डीआइजी निरञ्जन कोइरालाको केस र न्यायालयभित्रको विलम्बको विषयमा जवाफ दिएका थिए।