PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता



पहिलोपोस्ट

फेरिए जेठालालका फायरबिग्रेड : शैलेश बाहिरिए, सचिन बने नयाँ तारक मेहता
Photo : India Today

१५ वर्ष भयो भारतको सब च्यानलबाट 'तारक मेहताका उल्टा चश्मा' प्रशारण भइरहेको। सो कार्यक्रमको सुरुको एपिसोडबाटै तारक मेहताको भूमिका निर्वाह गर्दै आएका थिए शैलेश लोधाले। जेठालाल (दिलिप जोशी) का परम मित्र हुन् तारक मेहता। गोकुलधाममा कुनै समस्या परे सबैजना उनकै पुग्छन् सल्लाह लिन। हप्तामा ६ दिन आउने शो कार्यक्रममा अरु 'क्यारेक्टर' नदेखिएपनि तारक मेहता भने कार्यक्रमको अन्तिममा हरेकपल्ट देखिँदै आएका छन्। 

तर, गएको दुई एपिसोडको अन्तिममा उनी देखिएनन्। उनको सट्टा देखिए कार्यक्रमका निर्माता असितकुमार मोदी। गणेश उत्सव मनाइरहेको गोकुलधाममा अन्तत: तारक मेहत परिवर्तन भएको जानकारी उनले दिएका छन्। भदौ २८ गते शोमा नयाँ तारक मेहताले 'इन्ट्री' लिए। अर्थात शोमा शैलेशको स्थानमा भित्रिए सचिन श्राफ।

यसो त सचिनले शो छाडेको चर्चा भएको महिनौं भयो। निर्मातासँगको असमझदारीका कारण उनले शो 'क्विट' गरेको बताइएको छ। जसबारेमा उनले सार्वजनिक रुपमा नै बोलेका छन्। एपिसोडमा नदेखिए पनि उनी शोको अन्त्यमा भने देखिँदै आएका थिए। तर, अबबाट भने शैलेशको सट्टा शोमा आधिकारिक रुपमा सचिन देखिने भएका छन्।

शोमा सचिनको इन्ट्रीसँगै दर्शकले वर्षौंदेखि मनपराउँदै आएको तारक मेहताको 'क्यारेक्टर' लाई दर्शकले कसरी लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। पछिल्लो समय यो शोमा धेरै 'क्यारेक्टर'हरु परिवर्तन भएका छन्। अन्जली भाभी, सोधी, डाक्टर हाथी, नट्टु काकी परिवर्तन भइसकेका छन्। नयाँ कलाकारहरुले शोमा राम्रै अभिनय गरिरहे पनि पहिलाको क्यारेक्टरहरुलाई दर्शकले अझै भूल्न सकेका छैनन्। यस्तो अवस्थामा जेठालालको नयाँ फायर बिग्रेडलाई दर्शकले कसरी साथ दिन्छन् त्यो आउने दिनमा थाहा हुनेछ।

यसबिच शोका निर्माता असितकुमार मोदीले शोमा नयाँ कलाकारहरु यही वर्ष भित्रिने बताएका छन्। अहिले तारक मेहताका उल्टा चश्मामा दया भाभी (दिशा भकानी) र तप्पु नदेखिएको धेरै भयो। शोमा दिशा नदेखिएको त धेरै वर्ष भयो। उनको स्थानमा नयाँ कलाकार ल्याउने 'आँट' निर्माताले गर्न सकेका छैनन्। दिशालाई शोमा फर्काउने प्रयास असफल भएपछि मोदी नयाँ दया भाभीको खोजीमा छन्। 

तप्पुको भूमिका निर्वाह गर्दै आइरहेका राज अनाडकटले पनि शो छाडिसकेका छन्। पछिल्ला एपिसोडमा उनी तप्पु सेनासँग देखिएका छैनन्। निर्माता नयाँ तप्पुको खोजीमा रहेको बताइन्छ।

यस्तै, शोमा पत्रकार पोपटलाल (श्याम पाठक) को विवाह हुने् नहुने बहस भएको धेरै भयो। यो वर्ष भने पोपटलालको विवाह हुन सक्ने संकेत निर्माता मोदीले दिएका छन्। 

१५ वर्षदेखि निरन्तर चलिरहेको यो शो कोरोना भाइरस महामारीको समयमा मात्रै रोकिएको थियो। पछिल्लो समय नयाँ कलाकार र कमजोर कथाका कारण शोका निर्देशक र निर्मातामाथि शोलाई पुरानै शैलीमा फर्काउनुपर्ने दबाब बढ्दो छ। यसबिच नयाँ कलाकार र पुराना कलाकारबिच सन्तुलन मिलाएर कथा पस्कनुपर्ने दबाब पनि बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell