PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रियसभामा शून्य समय : डेंगु नियन्त्रण गर्न सरकारसँग माग, उठ्यो सिटामोल अभावको विषय



पहिलोपोस्ट

राष्ट्रियसभामा शून्य समय : डेंगु नियन्त्रण गर्न सरकारसँग माग, उठ्यो सिटामोल अभावको विषय

काठमाडौं : राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे। उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाए।

‘मिटरब्याजीहरुले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रुपमा मिटरब्याज असुल गर्दै ठगि गरेको कुरा आएको छ। तर ती न्याय माग्न गएकाहरुलाई सरकारले उल्टै लाठीचार्ज गर्ने, उनीहरुको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ। यस्तो काम अविलम्ब रोकियोस्। र, अहिले सिटामोलको अभावले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस्,’ उनले भने।

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।

‘देशमा कोरोनासँगै डेंगु रोग भयावहस्थिति सृजना भएको छ। र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आईरहेको छ। यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्छ। बाढिपहिरोबाट जनताहरु आहात भएका छन। उद्दार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ,' उनले भने।

एमाले सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

 ‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ। यो देशव्यापी भइसकेको छ,' उनले भने। भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell