PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

नेपाल-भारत परराष्ट्र सचिव बैठक : पारवहान सन्धि टुंग्याउने सहमति, सीमा विवादमा नेपालको चासो भारत मौन



पहिलोपोस्ट

नेपाल-भारत परराष्ट्र सचिव बैठक : पारवहान सन्धि टुंग्याउने सहमति, सीमा विवादमा नेपालको चासो भारत मौन
Photo: MEA India

काठमाडौं : नेपाल-भारत परराष्ट्र सचिव स्तरीय बैठक नयाँ दिल्लीमा भएको छ। बैठकमा दुई देशबिच द्विपक्षीय साझेदारीका विभिन्न पक्षमाथि छलफल भएको छ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फबाट भारतीय विदेश सचिव विनय क्वात्राको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। बैठकमा आर्थिक तथा वाणिज्य साझेदारी, सम्पर्क सञ्जाल विस्तार, विकास साझेदारी, व्यापार सम्बन्ध बारे समीक्षा भएको थियो।

त्यस्तै, गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएका सहमति तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनको अवस्थामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा उर्जा क्षेत्रमा साझेदारीका लागि भएका प्रगतिका बारेमा समीक्षा गर्दै दुवै पक्ष यस्ता साझेदारीलाई बढाउँदै लैजान सहमत भएका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जारी भएको 'जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेसन'लाई अंगीकार गरेको छ। त्यस्तै ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको एसआर-६ परियोजना सम्बन्धी एमओयुमा हस्ताक्षर हुनुलाई स्वागतसमेत गरेको छ।

त्यस्तै, कनेक्टिभिटी परियोजना अन्तर्गत जयनगर-बर्दिवास रेल परियोजनाको कुर्ता बिजलापुर खण्डको सञ्चालनसम्बन्धी प्रगतिको विषयमा समेत बैठकमा छलफल भएको थियो। त्यस्तै जोगबनी-विराटनगर रेल लिंक अन्तर्गत बथनहा-नेपाल भन्सार क्षेत्रको खण्डको प्रगति प्रति दुवै पक्षले सन्तुष्ट भएका छन्। त्यस्तै, नेपालले कोभिड-१९ को समयमा भारतले पुर्‍याएको सहयोगप्रति भारतलाई धन्यवादसमेत दिएको छ।

सचिवस्तरीय बैठकमा जनसम्पर्क सञ्जाल विस्तार गर्नका लागि रामायण सर्किटको प्रस्तवित परियोजनालाई द्रुतरुपमा अगाडि बढाउन सहमति भएको छ। त्यस्तै, अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन विस्तारलाई द्रुत बनाउने र मोतिहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण गर्न सहमतिसमेत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसैबिच, बैठकमा दुई देशबीच पारवहान सन्धीलाई टुंग्याउने विषयमासमेत छलफल भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले पारवहान सन्धी र यसको प्रोटकल चाँडै टुंग्याउने विषयमा छलफल भएको जनाएको छ।

त्यस्तै, वाणिज्य सन्धिको पुनरवालोकन तथा प्रोटोकलसम्बन्धी एमओयुका विषयमासमेत छलफल भएको दूतावासले जनाएको छ। कृषि मल, पिठो, चीन, चामलसहितका खाद्य वस्तुको निर्यात कडाइलाई खुकुलो पार्ने विषयमासेत छलफल भएको बताइएको छ।

नेपालले उठायो सीमा विवाद, भारत मौन

यसैबिच, दिल्लीस्थित नेपाली दूतावासले सीमा विवादसम्बन्धी विषयमा छलफल भएको जनाएको छ। दूतावासले द्विपक्षीय संयन्त्र मार्फत सीमा सम्बन्धी बाँकी कामलाई पूरा गर्ने विषयमा छलफल भएको जनाएको छ। यता भारतीय विदेश मन्त्रालय भने यस विषयमा मौन छ।

पछिल्लो समय नेपाल र भारतबिच कालापानीलगायत क्षेत्रमा देखिएको सीमा विवाद समाधान भएको छैन। वर्षौंदेखि भारतीय सैनिक नेपालको कालापानी क्षेत्र कब्जा गरेर बसेका छन्। दुवै देशले कालापानीलाई आफ्ना राजनीतिक नक्सामा समेटेका अवस्था छ।

पछिल्लो समय नेपाल-भारतबिच कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा विवाद चल्दै आएको छ। भारतले यी भूमिलाई समेटेर आफ्नो प्रशासनीक नक्सालाई अध्यावधिक गरेसँगै विवाद बल्झिएको थियो। नेपालले भारतलाई कुटनीतिक माध्यमबाट विरोध जनाएको थियो। द्विपक्षीय संयन्त्र मार्फत सीमा समस्या हल गर्न नेपालले पटक पटक आग्रह गरेको छ। तर, भारत यसमा अनिच्छा देखाउँदै आएको छ।

त्यसयता नेपालले पटक-पटक वार्ताका लागि पत्राचार गरे पनि त्यसको जोाफ भारतले दिएको छैन। नेपालले पनि यी भूभाग समेटेर नक्सा जारी गरेपछि दुई देशबिच थप विवाद चर्किएको हो। यही विषयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबिच संयुक्त वक्तव्यसमेत जारी भएन। दुवै देशले छुट्टा छुट्टै वक्तव्य जारी गरेका थिए। त्यसबेला पनि नेपालले सीमा विवाद समाधानको कुरा निकालेको थियो। त्यतिबेला पनि भारत यस विषयमा मौन थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell