
बेलायती महारानी एलिजाबेथ द्वितीयको कफिन (शव राखिएको काठको बाकस) आज वेस्टमिनिस्टर हलमा ल्याइँदैछ। बकिङ्घम दरबारबाट महारानीको कफिनलाई बग्गीमा राखेर स्थानीय समय अनुसार ३ बजे वेस्टमिनिस्टर हलमा ल्याइने बताइएको छ।
महारानीको कफिनलाई वेस्टमिनिस्टर हलमा सर्वसाधारणले श्रद्धाञ्जली दिनको लागि ४ दिनसम्म राखिने बताइएको छ। महारानीको अन्तिम संस्कार सोमवार गरिने तय भएको छ।
लण्डनको सडकबाट महारानीको कफिनलाई लैजादै गर्दा बग्गी पछिपछि राजा चार्ल्स, उनका छोराहरू राजकुमार विलियम र ह्यारी तथा अन्य वरिष्ठ शाही परिवारका सदस्यहरूले मौन यात्रा गर्ने आशा गरिएको छ।
स्थानीय समय अनुसार दिउँसो ५ बजेपछि वेस्टमिनिस्टर हलमा महारानीलाई श्रद्धाञ्जली दिन सर्वसाधारणको लागि खुला गरिनेछ। लाखौँ मानिसहरु श्रद्धाञ्जली दिन लाइन लाग्ने अपेक्षा गरिएको छ। जुन ३० घण्टासम्म चल्न सक्ने बताइएको छ।
केही मानिसहरू भने गएरातिदेखि नै लाइनमा बसेर श्रद्धाञ्जली दिन पर्खिरहेका छन्। केही मानिसहरु छिमेकी देशबाट समेत महारानीलाई श्रद्धाञ्जली दिन आइपुगेका छन्।