
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भईरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले अध्यक्ष नेपालले आंकाक्षीहरु बढ्दा समस्या भएको बताएका हुन्।
‘अब मंसीर ४ गते चुनाव हुन गईरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता बेहोस हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं,' उनले भने।
'उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढा'हरुले समेत टिकटको आकांक्षा चर्को रुपमा राखेको उनले बताए।
'नगरे पनि हुन्थ्यो नि दाबा भन्नेले पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भईसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?,’ नेपालले सुनाए।