काठमाडौं : महाभियोग सिफारिस समितिले छलफलका लागि बोलाएका ६ जना बहालवाला न्यायाधीशहरु समितिमा नजाने भएका छन्। बहालवाला न्यायाधीश संसदीय सुनुवाई बाहेक अन्यमा जान नमिल्ने भन्दै उनीहरुले समितिको बैठकमा उपस्थित नहुने बताएका हुन्।
आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई छलफलको लागि बोलाउने निर्णय गरेको थियो। जसअन्तर्गत बहालवाला न्यायाधीशहरु दीपक कुमार कार्की, हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा, आनन्दवन भट्टराई र हरि फुँयाललाई पनि समितिले बलाएको थियो।
उक्त बैठकले बहालवाला न्यायाधीशसहित पूर्व न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पूर्व अध्यक्षहरु र वरिष्ठ अधिवक्ताहरुलाई बोलाउने निर्णय गरेको थियो। गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो।
जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत आरोपहरु लागेका छन्।
जबराले ४३ वटा मुल प्रश्नको जवाफ दिएका थिए। जबराले पहिलो दिनको बयानमा न्यायाधीश, नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए। दोस्रो दिनमा उनले संसद् र सांसदमाथि नै प्रश्न तेर्साएका थिए। तेस्रो दिन सशस्त्र प्रहरीका पूर्व डीआइजी निरञ्जन कोइरालाको केस र न्यायालयभित्रको विलम्बको विषयमा जवाफ दिएका थिए।