काठमाडौं : आज यँया (इन्द्रजात्रा)को आठौं तथा अन्तिम दिन। आज नानिचा:या: अर्थात् प्राचीन काठमाडौं शहरको बिचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र भैरवको रथयात्रा हुँदैछ।
आज भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि रथयात्रामा सहभागी भइन्।
कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि कुमारी घर पुगेर रथ यात्रा समापन हुन्छ। किलागलस्थित पुलुकिसि राखिने मन्दिरमा र इन्द्रचोकस्थित आकाश भैरवको मन्दिर परिसरमा कुमारी, गणेश र भैरवको विशेष पूजा गरिएको थियो।
रथयात्रा समापनपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर गई श्री कुमारी, श्री गणेश र श्री भैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि छ।
आज राति ७ बजेर ३३ मिनेटको शुभ साइतमा य:सिं ढालेर टेकु दोभान स्थित विष्णुमति खोलामा लगेर छोडिन्छ। यससँगै इन्दजात्रा सम्पन्न हुन्छ।