PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

मध्य एसियाको भ्रमणमा चिनिया राष्ट्रपति, पुटिनसँग भेट्ने : मोदीसँग होला द्विपक्षीय भेटवार्ता?



पहिलोपोस्ट

मध्य एसियाको भ्रमणमा चिनिया राष्ट्रपति, पुटिनसँग भेट्ने : मोदीसँग होला द्विपक्षीय भेटवार्ता?
फाइल फोटो : PTI

चीनका राष्ट्रपति सि जिनपिङ मध्य एसियाको भ्रमणमा निस्किएका छन्। कोरोना कहरपछि सि पहिलोपटक विदेश यात्रामा निस्किएका हुन्। बुधवार काज्किस्तानमा त्यहाँका राष्ट्रपति कस्याम जोमार्ट टोकएभले नुरसुल्तान नजरबएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

काजकिस्तानको भ्रमणमा निस्किएका उनले भ्रमणका क्रममा रासियाका राष्ट्रपति भ्लादमिर पुटिनसँग पनि भेट्नेछन्। रसियाले युक्रेनमा युद्ध शुरु गरेयता पुटिन र जिनपिङबिच यो पहिलो प्रत्यक्ष भेट हुन लागेको हो। युक्रेन युद्धमा चीनले रसियालाई साथ दिँदै आएको र बेइजिङ र मस्कोबीचको सम्बन्ध यो भेटले थप बलियो हुने बताइएको छ।

भेटमा रसियालाई चीनले सहयोग गर्नेसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भारत तथा इरानका सुरक्षा र व्यापारीहरुलाई जोड्ने उद्देश्यका साथ उज्वेकिस्तानमा शुरु हुन लागेको संघाई कोअपरेसन अर्गनाइजेसन समिटमा जिनपिङ र पुटिनबीच भेट हुने भएको हो।

२००१ मा स्थापित सांघाई कोअपरेसन अन्तर सरकारी संगठन हो। यसका ८ पूर्ण सदस्य, चार पर्यवेक्षक र ६ संवाद साझेदार राष्ट्र छन्।

स्थापना कालमा चीन, काजकस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान सदस्य रहेको यस संगठनमा सन् २०१५ देखि भारत र पाकिस्तान पनि सदस्यका रुपमा जोडिएका थिए।

त्यस्तै, २०२१ को सेप्टेम्बरदेखि इरान यसको 'एसेन्डिङ मेम्बर'को रुपमा रहेको छ। यस बैठकबाट उसले पूर्ण सदस्यको मान्यता पाउने बताइएको छ।

यस्तै, पर्यवेक्षक राष्ट्रको रुपमा रहेका अफगानिस्तान र मंगोलियाले पनि सदस्यमा स्तरोन्नतिको लागि चासो राखेका छन्। यद्यपि, अफगानिस्तानमा तालिवान शासन स्थापनापछि यो प्रक्रिया अनिश्चित छ। तालिवानलाई हालसम्म कुनै पनि देशले कुटनीतिक मान्यता दिइसकेका छैनन्।

त्यस्तै, प्रर्यवेक्षक रहेको बेलारुसले पनि सदस्यमा स्तरोन्नतिका लागि आकाक्षा राखेको छ। त्यस्तै श्रीलंका, नेपाल, कम्बोडियालगायतका डायलग पार्टनरले पनि पर्यवेक्षकमा स्तरोन्नतिका लागि आग्रह गरेका छन्।

त्यसैगरी, इजिप्ट, कतार र साउदी अरेवियाले डायलग पार्टनरका लागि आकांक्षा देखाएका छन्।

गत अगस्टमा तास्केन्तमा भएको संगठनका विदेशमन्त्री स्तरीय बैठकले संगठन विस्तारसम्बन्धी योजनालाई पास गरेको थियो। सो बैठकले नेपाल, कम्बोडिया, अर्मेनिया र अजरबैजानले पर्यवेक्षक राष्ट्रका लागि दिएको निवेदनमाथि छलफल गरी साझा धारणा बनाउने बनाउने आवश्यकता दोहोर्‍याएको थियो।

यसमा कुनै पनि राष्ट्रको सहभागिता, स्तरोन्नतिका लागि सबै देशको सहमति हुन आवश्यक छ। नेपालले यसमा सहयोग गर्न चीनसँग आग्रह गरेको छ।

गत महिना चीनको भ्रमणका क्रममा परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षीसँग यस्तो आग्रह गरेका थिए। त्यस्तै, २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुस भ्रमणका क्रममा रुसी समकक्षीसँग पनि यस्तै आग्रह गरेका थिए।

मोदी र जिनपिङको पनि भेट हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि बिहीवार संघाई कोअपरेसन अर्गनाइजेसनको कार्यक्रममा सहभागी हुन उज्वेकिस्तान जाँदैछन्। मोदीले त्यहाँ चीनका राष्ट्रपति जिनपिङ र रसियाका राष्ट्रपति पुटिनसँग भेट्ने कार्यक्रम रहेको छ। उज्वेकिस्तानका राष्ट्रपति शब्कत मिर्जियोएभले आयोजना गरेको रात्रिभोजमा उनीहरुको भेट हुने कार्यतालिका रहेको छ।

मोदी र जिनपिङबिच दुई पक्षीय भेटवार्ताबारे भने केही खुलाइएको छैन। रसियाले भने पुटिन र मोदीबीच दुई पक्षीय भेटवार्ता हुने जनाएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसी र उज्वेकिस्तानका राष्ट्रपतिसँग पनि मोदीको दुई पक्षीय भेटवार्ता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell