PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई



पहिलोपोस्ट

स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु स्वदेश फर्किएका छन्। लिलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाई गरे।  

बुधबार मात्रै लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुई देशबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो।

अध्यक्ष लि सोमवार विशेष विमानबाट काठमाडौं आइपुगेका थिए। बुधवार बिहान मात्रै चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो।

भ्रमणको पहिलो दिन सोमवार सभामुख सापकोटा र अध्यक्ष लिले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। 'संसद भवनको लोत्से हलमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शुले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गर्नुभएको थियो,' उक्त भेटबारे सभामुख सापकोटाले भने, 'वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो।'

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा दुई पक्षबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो।

मङ्गलबार नै अध्यक्ष लि र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो। सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो।

सोही दिन नै अध्यक्ष लि र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो।

मङ्गलबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लिसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो। अध्यक्ष लि नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell