वीरगंज : नेपाल सरकारले वीरगंजको वडा नं ३१ चोर्नीको रामवनमा चिडियाखाना बनाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने बाटो खुलेको हो।
वनमन्त्री यादवले मधेश प्रदेशमा 'परापर्यटन' बढाउन र भारतीय पर्यटकलाई अकर्षित गर्न चिडियाखाना आवश्यक रहेको बताएका छन्। उक्त चिडियाखाना एक अर्ब एक करोड सात लाख रुपैयाँको लागतमा निर्माण गरिने मन्त्रालयले जनाएको छ।
चिडियाखाना निर्माणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजगत्वमा आठ सदस्यीय एक कार्यदल समिति गठन भई उक्त कार्यदल समितिले आफ्नो प्रतिवेदन समेत पेश गरीसकेको छ। प्रस्तावित चिडियाखानाको क्षेत्रभित्र पर्ने ३.१ हेकटर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएको सबै साझेदारी वन क्षेत्रको सिमानामा तारबार गरेर मात्र स्थापना गर्नु पुर्ने, प्रस्तावित चिडियाखाना स्थापना गर्दा प्राकृतिक चिडीयाखानाको साथै वन्यजन्तु उद्धार केन्द्र वन्यजन्तु प्रजनन केन्द्र, वन्यजन्तुका लागि आवश्यक पूर्वाधार तथा उचित रोकथाम, पर्यटक व्यवस्थापनमा ध्यान दिनु पर्ने एवम् जैविक विविधता शिक्षा प्रवद्धन तथा वन्यजन्तको कल्याण समेतलाई मध्यनजर गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको चिडियाखाना स्थापना र सञ्चालनका लागि मानवीय, प्राविधिक तथा आर्थिक स्रोतको सुनिश्चित हुने गरी प्रस्तावित चिडियाखाना स्थापना र सञ्चालन गर्नु पर्ने उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।
केके हुन्छ चिडियाखानामा?
प्रस्तावित चिडियाखाना पर्साको सवैया साझेदारी वनको पूर्व सिमानामा पर्छ। चिडियाखानाको क्षेत्रफल ५० हेकटर रहेको छ। जसमा घास बुट्यान क्षेत्रले ३९.४ हेकटर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ। उष्ण साल वन क्षेत्र रहेको उक्त वन क्षेत्रमा मुख्य प्रजाति साल र कर्मा रहेको छ। कहिँले कही घुमन्ते बाघ देखिने यसक्षेत्रमा अन्य चित्तल, खरायो, दुम्सि, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइनेछ
उक्त क्षेत्रमा घर्सने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहेकोले यहाँका चिडियाखाना बनाउन उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ।