काठमाडौंः काठमाडौंको तार्केश्वर नगरपालिका ४ स्थित एक खाद्य गोदाम वाणिज्य विभागले छापा मारेको छ। छापा मार्दा म्याद गुज्रिएका खाद्य तथा कस्मेटिक सामान फेला पारेको छ। गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्री पाइएको वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। दैनिक बजार अनुगमन क्रममा म्याद गुज्रिएको सामाग्री स्टोर गरेको फेला परेको विभागको दाबी छ।
यसरी स्टोर गरेर राखिएको सामाग्री बजारमा पुग्न सक्ने आशङ्कामा नष्ट गरिएको छ। २१ लाख १९ हजार ५०० रुपैयाँ बराबरका म्याद गुज्रिएको सामाग्री नष्ट गरिएको हो। चाडवर्ष नजिकिएसँगै खाद्य बस्तुको कालोबजारी, गुणस्तरहीन बस्तुको बिक्री लगायत कार्य हुने भएकाले वाणिज्यले अनुगमन तथा निरीक्षण बढाउने समेत बताएको छ।