PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

साफ महिला च्याम्पियनसिपको दुबै सेमिफाइनल आज, नेपालको मैदानमा भारतले ब्यहोर्ला 'ब्याक टू ब्याक' पराजय?



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिपको दुबै सेमिफाइनल आज, नेपालको मैदानमा भारतले ब्यहोर्ला 'ब्याक टू ब्याक' पराजय?
फाइल फोटो

काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको दुबै सेमिफाइनल खेल आज शुक्रवार हुँदैछन्। पहिलो खेलमा बंगलादेश र भुटान र दोस्रो खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्।

बंगलादेशले समूह चरणमा 'ए' बाट शत प्रतिशत जित निकाल्दै समूह विजेता बनेको थियो। अर्कोतर्फ समूह 'बी' नेपाली टोलीसँग पराजय र श्रीलंकासँग जित निकालेको भुटानी टोली समूह उपविजेता बन्दै पहिलो पटक साफको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यी दुई टोलीबीच पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल र भारत भिड्दैछ। समूह चरणमा भुटान र श्रीलंकालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने समूह 'बी' पाकिस्तान र माल्दिभ्ससँग जित तथा बंगलादेशसँग हार ब्यहोर्दै भारत समूहको उपविजेता भएर सेमिफाइनल पुगेको हो। अहिलेसम्म सबै संस्करणको विजेता भारतलाई हराउने चुनौती घरेलु टोलीलाई रहने छ। पछिल्लो खेलमा बंगलादेशसँग पराजय ब्यहोर्दा साफको इतिहासमै पहिलो हार ब्यहोरेको भारतले आज जित निकाल्दै विरासत कायम राख्ने लक्ष्य राख्नेछ। अर्कोतर्फ घरेलु मैदानमा नेपालले पनि बलियो चुनौती दिनेछ। यद्यपि, भारतलाई हराउन सहज भने हुनेछैन। महिला साफको कुनै पनि संस्करणमा नेपालले भारतलाई हराउन सकेको छैन।

'पछिल्लो खेल हाम्रा लागि राम्रो पाठ थियो। यदि हामीले प्रयास गरेनौं भने कसैले हामीलाई हराउन सक्छ,' भारतीय टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले भनेका छन्, 'यो हप्ताको सुरुमा बंगलादेशसँगको हारपछि हामी सबै निराश भयौं। मैदानमा गोल गर्ने भोक हाम्रो तर्फबाट हराइरहेको थियो तर हामीले अब आयोजकहरूसँग एक भएर भएर खेल्नुपर्छ। हामी बलियो भएर फर्कनुपर्छ।'

क्षेत्रीले अगाडि भनेका छन् : नेपाल बलियो टोली हो, उनीहरुसँग राम्रो खेलाडी छन्। उनीहरूले १० गोल गरेर आफ्नो आक्रामक पक्ष देखाएका छन् तर उनीहरूले कति राम्रोसँग डिफेन्स गर्छन् भनेर हामीले हेर्न बाँकी छ। हामीसँग उनीहरूलाई खेल्ने विगतको अनुभव छ र हामीबिचमा हाम्रो क्षमता प्रमाणित गर्नमा केन्द्रित हुनेछौं।

अर्कोतर्फ नेपाली टोलीको स्टार स्ट्राइकर साबित्रा भण्डारी साम्बा र मञ्जली योञ्जनलाई डेङ्गुको संक्रमण हुँदा उनीहरु मैदान फर्कने या नफर्कने भने टुंगो छैन। त्यसअघि नियमित कप्तान तथा प्लेमेकेर रेनुका नगरकोटे चोटले टीम बाहिर बस्नुको बोझ नेपाललाई छँदैछ।

'साबित्रालाई डेङगुबाट रिकभर हुन कति समय लाग्छ त्यसमा निर्भर हुन्छ। म सकारात्मक छु। कोच र अरु खेलाडी पनि डेङ्गु भएको छ। आशा छ उनीहरु चाँडै फर्किने छन्,' नेपाली टोलीका प्रशिक्षक कुमार थापाले श्रीलंकाको खेलपछि भनेका थिए, 'यस्तो हुन्छ कहिलेकाहीँ इन्ज्युरी या अन्य कारणले। अब सेमिफाइनलको खेल टफ हुनेछ। बंगलादेश र भारतको राम्रो टिम भएका छन् यसको चिन्ता छ। उनीहरु अनुभवी छन्। हामी उनीहरुलाई ब्रेक गर्न फोकस्ड छौं।'

खेलाडी ठीक नभए टिममा कतिको असर गर्ला भन्ने सन्दर्भमा उनले अगाडि भने : नुन नभए पनि तरकारी त खान पर्‍यो।

नेपाल र भारतबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell