
काठमाडौं : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरूले पाँच वर्षे कार्यकाल सोचे अनुसार उपलब्धिपूर्ण नभएको बताएका छन्।
प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दै सांसदहरुले प्रतिनिधिसभा विघटन र लामो समयसम्मको प्रतिपक्षी दलको अवरोधका कारण संसदले सोचे अनुसार काम गर्न नसकेको बताएका हुन्। अन्तिम बैठकमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउन भने छोडेनन्। सांसद विद्या भट्टराईले सडकमा भएका ढलका ढकनहरू नलगाइँदा गम्भीर घटना भइरहेको भन्दै ध्यानाकर्षण गराइन। '
'अन्तिम समयको शून्य समयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। सडकमा ढकन नलगाउँदा ११ वर्षको बच्चाको ज्यान गएको छ। उच्च माविलाई विद्यालयमा गाभिएपछि शिक्षकमाथि अन्याय भएको छ,' भट्टराईले भनिन्।
यस्तै बिनादेवी बुढाथोकीले सरकारले समयमै डेंगुको सङ्क्रमण रोक्न नसके कोभिड सङ्क्रमणपछिकै ठुलो क्षति बेहोर्नुपर्ने बताइन। अस्पतालहरूले मनोमानी शुल्क लिएको उनको भनाइ थियो।
'डेंगुलाई समयमै नियन्त्रण गर्न सकिएन भने कोरानापछिको जनधनको ठुलो क्षति हुन सक्छ। परिक्षणामा अस्पतालले मनोमानी शुल्क लिएका छन्,'बुढाथोकीले भनिन्।
सांसद बिन्दा पाण्डेले नेतृत्व र राज्यका निकायको प्रवृत्ति परिवर्तन हुन नसक्दा प्रणालीमाथि नै दोष थुपारिएको बताइन। उनले संसद्को यो कार्यकालको मुख्य काम कानुन निर्माण र सङ्घीयता कार्यान्वयन भए पनि आंशिक रुपमा अझै बाँकी रहेको बताइन।
'आवश्यक कानुन निर्माण र सङ्घीयता कार्यान्वयन संसद्को यस कार्यकालको मुख्य काम थियो। दुवै काम आंशिक रुपमा अझै बाँकी छन्,' पाण्डेले भनिन्,'सङ्घीय प्रणाली र संविधानले माग गरे अनुसार नेतृत्व र राज्यका निकायहरूको प्रवृत्ति परिवर्तन हुन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धिमाथि हुन थालेको छ।'
सांसद विमला विश्वकर्माले संसद्को अन्तिम बैठकमा काठमाडौं महानगरपालिकाभित्र मेयर बालेन शाहले फुटपाथका व्यापारिलाई हटाएर बिचल्ली बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन। उनले व्यवस्थापन नगरीकनै हटाइदा अहिलेको समस्या आएको धारणा व्यक्त गरिन। 'स्वरोजगारमा लागेकाहरूको बिचल्ली भएको छ। व्यवस्थित नगरी विस्थापित गर्दा ठुलो समस्या देखिएको छ। निश्चित समयका लागि व्यवस्थित गरियोस्,' उनले भनिन्।