
काठमाडौं : निर्वाचन आयोगले २०७४ मा दलहरूले बुझाएको बन्द सूचि कायम नरहने निर्णय गरेको छ।
२०७४ को प्रदेश तथा प्रतिनिधि सभाका लागि दलहरूले बुझाएको बन्द सूचि शनिबार राति १२ बजेदेखि कायम नरहने आयोगको निर्णयमा उल्लेख छ।
निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्द सूचि पेस गर्ने समय तोकिएको छ। बन्द सूचि पेस गर्ने समय अघि आयोगले यसअघिको सूचि कायम नरहने निर्णय गरेको हो।
निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतःकायम नरहने समयावधि किटान गर्ने निर्णय गरेको हो।
उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोगका सहसचिव शालिग्राम शर्मा पौडेले जारी विज्ञप्तिमा उल्लेख छ।