PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

भुटानलाई ८-० ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा



पहिलोपोस्ट

भुटानलाई ८-० ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा
File Photo

काठमाडौं : बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८-० को गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको हो। 

खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता कायम गरेको थियो। दोस्रो मिनेटमा मोसामता श्वप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। १८ औं मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाइन्। खेलमा कप्तान खातुनले ह्याट्रिक गरिन्। उनले ५४ औं र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। 

पहिलो हापमा चार गोल गरेको बंगलादेशले दोस्रो हापमा थप चार गोल थप्यो। बंगलादेशका लागि श्रीमोती सरकार, रितु चक्मा, मासुरा प्रभिन र तोहुरा खातुनले एक/एक गोल गरे। 

बंगलादेश समूह 'ए'को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। उसले समूह चरणमा भारत र मालदिभ्स र पाकिस्तानलाई पराजित गरेको थियो। फाइनलमा दोस्रो सेमिफानलको विजेतासँग बंगलादेशले खेल्ने छ। 

दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन्। समूह 'बी' नेपालसँग पराजय र श्रीलंकासँग जित निकालेको भुटानी टोली समूह उपविजेता बन्दै पहिलो पटक साफको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 

समूह चरणमा भुटान र श्रीलंकालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने समूह 'बी' पाकिस्तान र माल्दिभ्ससँग जित तथा बंगलादेशसँग हार ब्यहोर्दै भारत समूहको उपविजेता भएर सेमिफाइनल पुगेको हो। अहिलेसम्म सबै संस्करणको विजेता भारतलाई हराउने चुनौती घरेलु टोलीलाई रहने छ। 

पछिल्लो खेलमा बंगलादेशसँग पराजय ब्यहोर्दा साफको इतिहासमै पहिलो हार ब्यहोरेको भारतले आज जित निकाल्दै विरासत कायम राख्ने लक्ष्य राख्नेछ। अर्कोतर्फ घरेलु मैदानमा नेपालले पनि बलियो चुनौती दिनेछ। महिला साफको कुनै पनि संस्करणमा नेपालले भारतलाई हराउन सकेको छैन।

नेपाल र भारतबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell