
काठमाडौं : कुनै समय संगीतको माध्यमबाट चेतना फैलाउँदै हिँडेका कवि मञ्जुलले २०२४ सालमा प्रकाशित गरेको गीतलाई नेपथ्य ब्याण्डले आजबाट आफ्नो आधिकारिक यु ट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ।
‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’
यिनै शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकमा ठाउँ पाएको हो। त्यही शब्दलाई नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले आफ्नै स्वादमा पस्केका हुन्।
‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’ अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारम्बार पढेकाले कण्ठस्थै थियो।’
उनले आनन्द लिएको शब्दलाई गीतमा ढाल्ने काम भने धेरै पटि मात्रै गरिएको हो।
‘मञ्जुल–रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,’ उनले भनेका छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो।’
अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए। त्यतिबेलै बाटोमा भर्खर बिहे गरेर आएको एउटा जोडी भेटिए। हिँड्दा हिँड्दै त्यो जोडी केही छिन अमृतको सहयात्री बने। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।
‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृतले भने, ‘मैले कता कता वर्षौं पहिले पढेको मञ्जुल दाइको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो।’
त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो।
‘ती जोडीलाई भेटेको दुइ तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनले भनेका छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ।’
गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छ–
‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’
अमृतका अनुसार त्यो अन्तरालाई पनि त्यसै यात्राका दौरान खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो।
यसरी दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। केही महिनाअघि नयाँवर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो। दमकमा आयोजित कन्सर्टमा यो गीत सुनेका दर्शकहरुको उत्साहलाई उतिबेलै भिडियो क्यामराले कैदसमेत गरेको थियो ।
यु ट्युबमा आजबाट बज्न सुरु भएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरु हुन्।
‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँ गाउँ डुल्ने गरेता पनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतका बारे श्रष्टा मञ्जुलले भनेका छन्, ‘त्यही भावनाले उतिबेला यी शब्दहरु कोरिएका हुन्।’
नेपथ्यले तयार पारेको यो गीतलाई सुनेर आफु आनन्दित भएको प्रतिक्रिया मञ्जुलले दिएको नेपत्थ्यले जनाएको छ।
‘अमृत भाइले आफ्नै शैलीको छाप सहित यसलाई तयार पारेर प्रस्तुत गरेका छन्,’ उनले भनेका छन्, ‘यसको आफ्नै मिठास छ।’
नेपथ्य ब्याण्डलाई प्रवद्र्धन गर्दैआएको ‘नेपालय’का अनुसार स्थापनाको तीन दशक पूरा गरिसकेको यस ब्याण्डका हालसम्म नौ वटा एल्बम आइसकेका छन्। यो गीत भने निकट भविष्यमै पूर्ण हुने तयारीमा रहेको दशौं एल्बमको नवौं प्रस्तुती हो। यसका आठवटा गीत युट्युवमा उपलब्ध भइसकेका छन्।
हेर्नुस् गीत
यो गीतमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन्।