PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउन सक्छ हृदय रोगको जोखिम'



पहिलोपोस्ट

'कृत्रिम गुलियो पदार्थ राखिएका खानेकुराले बढाउन सक्छ हृदय रोगको जोखिम'
Photo : Getty Images

कृत्रिम गुलियो पदार्थ (आर्टिफिसियल स्विटनर)को सेवन हृदय रोगको बढ्दो जोखिमसँग जोडिएको पाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार कृत्रिम गुलियो पदार्थ ‘चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन’।

‘एडेड सुगर’को हानिकारक प्रभावहरू धेरै दीर्घ रोगहरूसँग जोडिएको कुरा स्थापित भएको लामो समय भइसकेको छ। यद्यपि, खाद्य कम्पनीहरूले विश्वव्यापी रूपमा लाखौँ मानिसहरूले दैनिक उपभोग गर्ने खाना र पेय पदार्थहरूमा कृत्रिम गुलियो प्रयोग गर्ने गरेका छन्। हालका वर्षहरूमा यसको प्रयोग बढ्दो रुपमा भइरहेको कुरा प्रकाशमा आएको छ।

हृदय रोगमा यसको भूमिकाबारे पहिले नै प्रयोगात्मक अध्ययनहरूमा सुझाइएको थियो। तर, मानिसमा गरिएको अध्ययनको 'डाटा' भने सीमित थियो। अघिल्ला अवलोकन अध्ययनहरू कृत्रिम गुलियो प्रयोग भएका पेय पदार्थहरूमा मात्र केन्द्रित थिए।

अब भने बृहत अध्ययनबाट प्राप्त निष्कर्षहरूले कृत्रिम गुलियोको उच्च खपत र हृदय रोगको बढ्दो जोखिम बिचको सम्भावित प्रत्यक्ष सम्बन्धबारे सुझाव दिएको छ।

‘हाम्रो अध्ययनको नतिजाले यो संकेत गर्दछ कि लाखौँ मानिसहरुले दिनुहुँ खाने र हजारौँ खाना तथा पेय पदार्थहरुमा राखिने यी पदार्थहरुलाई चिनीको स्वस्थ र सुरक्षित विकल्प मानिनु हुँदैन,’ ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ।

एक लाख तीन हजार फ्रान्सेली वयस्कहरू सहभागी अध्ययनमा कृत्रिम गुलियो पदार्थहरु कार्डियोभास्कुलर, सेरेब्रोभास्कुलर, र कोरोनरी हृदय रोगहरूको बढ्दो जोखिमसँग सम्बन्धित रहेको देखिएको थियो।

‘कृत्रिम गुलियो पदार्थहरूले हृदय रोग रोकथामको लागि जोखिम निम्त्याउने अध्ययनको नतिजाले देखियो,’ अध्ययनको नतिजामा उल्लेख छ।

सोर्बोन पेरिस नर्ड युनिभर्सिटीका विज्ञहरूको नेतृत्वमा गरिएको अनुसन्धानमा पेय पदार्थ, टेबलटप स्वीटनर र दुधजन्य उत्पादनलगायतका आहार स्रोतहरूमा राखिएका कृत्रिम गुलियो जाँच गरिएको थियो र त्यसलाई हृदय वा रक्तसंचार रोगहरूको जोखिमसँग तुलना गरिएको थियो।

सहभागीहरूको औसत उमेर ४२ वर्ष थियो र हरेक पाँच जनामा चार जना महिला थिए। डाइट रेकर्डहरूको प्रयोग गरेर स्वीटनरको सेवन ट्र्याक गरिएको थियो।

सहभागीहरूले उनीहरूले २४ घण्टामा खाएका सबै कुरा नोट गरेका थिए। उनीहरुको नोटमा खानेकुरा कुन ब्रान्डको हो भन्ने पनि उल्लेख थियो। उनीहरूको आहार डायरी ६ महिनाको अन्तरालमा तीन पटक दोहोर्‍याइएको थियो। सहभागीहरूमध्ये लगभग ३७ प्रतिशतले कृत्रिम गुलियो पदार्थ उपभोग गरेको पाइएको थियो।

लगभग एक दशकको औसत फलोअप अवधिमा हृदयघात, स्ट्रोक, मिनी स्ट्रोक र एनजाइनासहित एक हजार ५०२ कार्डियोभास्कुलर घटनाहरू रेकर्ड गरिएको थियो।

कृत्रिम गुलियो पदार्थको सेवनले हृदय रोगको जोमिख ९ प्रतिशतले बढेको ब्रिटिश मेडिकल जर्नलले रिपोर्ट गरेको छ। अनुसन्धानकर्ताहरूले विशेष प्रकारका रोगहरूको अवलोकन गर्दा कृत्रिम गुलियोको खपतले मस्तिष्कमा रक्त प्रवाहलाई असर गर्ने अवस्थाहरू सेरेब्रोभास्कुलर रोगको जोखिमलाई १८ प्रतिशतले बढाएको पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell