
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्। शनिवार बिहान काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमपछि सभालाई सम्बोधन गर्दै उनले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताएका हुन्।
'यस ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने माथि चढाउने, राजनीति हिसावले, लोकतन्त्रको अभ्यासको हिसावले संविधान कार्यान्वयनको हिसावले, शान्ति सुव्यवस्थाको हिसावले, भ्रष्टाचार नियन्त्रणको हिसावले, सुशासनको हिसावले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्नेछौँ। प्रभावकारी ढंगले अघि बढ्नेछौँ,' उनले भने।
उनले अब जनताले देशलाई कुन दिशातर्फ बढाउने भनेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमार्फत गर्ने बताए। ओलीले अहिले नेपालको विकास र लोकतन्त्रलाई हार्न नदिन एमालेको जित अपरिहार्य रहेको बताए।
'लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गर्दछु। नेपाल नेपाली जनाले चलाउने हो, अरु कसैले होइन। संविधान दिवसलाई एउटा राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ। नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता हार्नु हुँदैन, विकासको अभियान हार्नु हुँदैन,' ओलीले भने।