PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

मान्छेलाई लात हान्दै हिँड्ने ढुंगालाई पूजा गर्दै हिँड्ने हाम्रो संस्कार छ : प्रचण्ड  



पहिलोपोस्ट

मान्छेलाई लात हान्दै हिँड्ने ढुंगालाई पूजा गर्दै हिँड्ने हाम्रो संस्कार छ : प्रचण्ड  

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्। शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका नाममा ढुंगा पूज्दै हिँड्ने विषयमा बहस हुनुपर्ने बताएका हुन्।

'विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ। आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ। मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन। हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि। मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है। चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो। हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिवलाई पूजा गरे कति राम्रो हुन्थ्यो। यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ,' उनले भने।

उनले नाट्यकार बालकृष्ण समले लेखेको ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर पनि गरे। दाहालले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए।

'हामीलाई विद्वानहरुले पनि ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ भनेर सिकाइयो, बालकृष्ण समको त्यो सही होइन। ठूलै साहित्यकारले भने पनि त्यो कुरा सही छैन। यो संस्कारले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासलाई अवरोध गरेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell